काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बिहीबार हेटौंडा अस्पताल र बाराको पथलैयामा रहेको मेडिकल स्टोरको आकस्मिक निरिक्षण गरेका छन् ।
पछिल्लो समय राजधानीका सरकारी र नीजि अस्पतालको निरीक्षण गर्दै सेवा सुधारका लागि लागिपरेका मन्त्री बस्नते बिहीबार हेटौँडा र बारा पुगेका हुन् ।
मन्त्री बस्नेत उपत्यका बाहिरका अस्पतालहरुले प्रदान गरिरहेको उपचार सेवाका विषयमा जानकारी लिन र सेवा सुधार्ने उद्देश्य अनुसार आकस्मिक निरिक्षणमा निस्केका हुन ।
हेटौँडा अस्पतालको आकस्मिक निरीक्षणको क्रममा मन्त्री बस्नेतले अस्पतालले प्रदान गरिरहेको उपचार सेवाका विषयमा जानकारी लिएका थिए । अस्पतालमा उपचाररत बिरामीहरुसँग पनि मन्त्री बस्नेतले कुराकानी गरेका थिए ।
निरीक्षणपछि मन्त्री बस्नेतले देश भरिका अस्पतालहरुले १० प्रतिशत शैया विपन्नका लागि छुट्याएर निः शुल्क उपचार गर्नुपर्नेमा जोड दिए । देशका अधिकांश सरकारी अस्पतालहरुले उपकरण किनेर प्रयोगमा नल्याउने र थन्क्याएर राख्ने प्रवृतिलाई निरुत्साहित गर्न निर्देशन दिए ।
उनले समस्या समाधानका लागि मन्त्रालयसँग समुन्वय नगरी नयाँ उपकरण खरिद नगर्न पनि निर्देशन दिए । उनले भने, ‘आवश्यकता र औचित्यताका आधारमा मात्र उपकरण किन्नु पर्छ ।’
जनताले गुणस्तरीय उपचार पाउनु पर्ने बाहेक आफ्नो कुनै स्वार्थ नभएको उल्लेख मन्त्री बस्नेतले राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन र काम नगर्नेलाई कारवाही गर्न आफू पछि नपर्ने दाबी गरे । कार्यक्रममा हेटौडा अस्पतालका निर्देशक सहित चिकित्सकले अस्पतालले प्रदान गरिरहेको सेवाका बिषयमा जानकारी गराएका थिए ।
त्यसैगरी मन्त्री बस्नेतले पथलैयास्थित औषधि स्टोरको पनि निरीक्षण गरेर त्यहाँ रहेको औषधि र भण्डारणका विषयमा जानकारी लिएका छन् ।
सो अवसरमा बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्कालगायत औषधि स्टोरका अधिकारीले मन्त्री बस्नेतलाई औषधि भण्डारणका विषयमा जानकारी गराएका थिए ।
