काठमाडौँ । अस्पतालहरुले नागरिकहरुलाई उपचारमा छुट दिएको छ की छैन भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले मन्त्रालय मातहतका बिभिन्न अस्पतालहरुमा अनुगमन गरेका छन् । अस्पतालहरुले बिभिन्न उपकरणहरु खरिद गर्दा भन्सार सुविधा पाउने गर्छन् । त्यो उपकरणमार्फत प्रदान गरिने सेवामा नागरिकहरुले १० प्रतिशतसम्म छुट पाउनु पर्ने प्रावधान रहेको छ ।
केही दिन अगाडी फार्मेसीहरुमा छड्के अनुगमन गरेका मन्त्री बस्नेतले मन्त्रालयका कर्मचारीहरुको नेतृत्वमा बिभिन्न टिमहरु बनाएर अनुगमनमा खटाएका हुन् ।
स्वयम्भुमा रहेको मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा मन्त्री बस्नेत आफैले अनुगमन गरेका छन् । खासगरी अस्पताल सञ्चालनका लागी आवश्यक मापदण्ड पुरा गरिएको छ कि छैन ? र भन्सार सुविधा लिएर खरिद गरिएका बिभिन्न उपकरणहरुमा बिपन्न नागरिकहरुले छुट पाएको छ की छैन भनेर अनुगमन गरिएको मन्त्री बस्नेतले बताए ।
अनुगमनका क्रममा मन्त्री बस्नेतले अस्पताल प्रशासनलाई सर्वसुलभ, गुणस्तरीय सेवा प्रभाव गर्न निर्देशन दिएका छन् भने सेवा सुधारका लागी आफु प्रतिबद्ध रहेको पनी बताएका छन् । मन्त्री बस्नेतल आफैले बिरामीहरुसंग कुरा गर्दै सेवा प्रवाहको बारेमा पनी जानकारी लिएका छन् ।
यस्तै मन्त्रालयको टोलीले कान्ती बाल अस्पतालको पनी अनुगमन गरेको छ । बालबालिकाहरुको उपचारका लागी प्रसिद्ध कान्तीबाल अस्पतालमा उपकरणदेखि भौतिक संरचनाको समेत अभाव रहेको भेटिएको छ ।
