परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियानको सुरुवात भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट खोप अभियानको सुरुवात गरेका हुन्।
खोप २०६५ भदौ ३० देखि २०६६ भदौ ३० गतेसम्म जन्म मिति भएका किशोरीले मात्र खोप लगाउन पाउने छन्। खोप लगाउनका लागि उमेर खुल्ने प्रमाण लिएर आउनु पर्छ अस्पतालमा निर्देशक डा श्री प्रसाद अधिकारीले जानकारी दिए ।
एचपीभी खोप अभियान पहिलो चरणमा देशका विभिन्न सात अस्पतालबाट लगाउन पाइने परिवार कल्याण महाशाखाले जनाएको छ। महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार प्रसूति गृहसहित कोशी प्रदेशमा कोशी अस्पताल, मधेश प्रदेशमा नारायण अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रदेशमा प्रदेश अस्पताल वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशमा डडेलधुरा अस्पतालमा एचपीभी खोप लगाइने छ।
पहिलो चरण भएकाले यो खोप १४ वर्ष उमेर पूरा भएका र १५ वर्ष ननाघेका २०६५ भदौ ३० देखी २०६६ भदौ ३० सम्म जन्मेका किशोरीलाई लगाउन लागिएको हो। सामान्यतया यो खोप ९ देखि १४ वर्ष उमेरका किशोरीलाई लगाइन्छ। सरकारले किशोरीहरुलाई लगाउन २० हजार भाइल खोप नेपाल भित्र्याएको छ।
हाल उपलब्ध भएको एचपीभी खोप ६ महिनाको अन्तरालमा २ मात्रा लगाउनुपर्ने हुन्छ।
