बलिउड अभिनेत्री परिणीति चोपडाले आम आद्मि पार्टीका सांसद राघव चड्ढासँग विवाह गरेकी छिन्।
आइतबार उनीहरूको बिहे भारतको उदयपुरस्थित द लीला प्यालेसमा भएको हो। भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार उदयपुरमा बिहे भएपछि उनीहरूले चन्डीगढमा रिसेप्सन पार्टी राखेका छन्।
परिणीति र राघवले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो बिहेको तस्बिर सार्वजनिक गरेका हुन्।
परिणीतिले आफ्नो विवाहका तस्विर सार्वजनिक गर्दै लेखेकि छिन् :
‘ब्रेकफास्ट टेबलमा हामीबिचको त्यो पहिलो कुराकानीमै हामीले थाहा पाइसकेका थियौँ । यो दिनका लागि लामो समय कुर्यौँ ।अन्ततः श्रीमान् श्रीमती हुन पाउँदा अत्यन्त हर्षित छौँ । हामी एक अर्का बिना बाँच्नै सक्दैनथ्यौँ । हामी सदाका लागि एक अर्काको भएका छौँ र यो हाम्रो सुरुवात हो । ’
उनीहरूको विवाह समारोहमा सानिया मिर्जा, अरविन्द केजरीवाल, मनिष मल्होत्रा, आदित्य ठाकरे, हरभजन सिंह, गीता बसरालगायतको उपस्थिति थियो। कार्य व्यस्तताले गर्दा अभिनेत्री प्रियंका चोपडा भने विवाहमा सहभागी थिइनन्।
परिणीति र राघवले वैशाखमा इन्गेजमेन्ट गरेका थिए। इग्ल्यान्डमा पढ्दा उनीहरूबीच चिनजान भएको थियो। परिणीतिले द युनिर्भसिटी अफ म्यानचेस्टरमा पढेकी हुन् भने राघवले लण्डन स्कूल अफ इकोनोमिक्समा पढेका हुन्।

