राजेश हमालको बारेमा दिएको एक अभिव्यक्तिका कारण उषा रजकको केही दिनदेखि चर्को आलोचना भैरहेको छ ।
उषाले कमेडी शो ‘आम्मा कसम यहाँ दुख्छ’ मा पुगेर हमाललाई ‘ओभररेटेड एक्टर’ बताएकी थिइन् । उनले हमालको अभिनय पनि खासै नभएको र नृत्य पनि सबैलाई थाहा भएको भन्दै विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।
उनै, उषाले अन्ततः हमालसँग माफी माग्दै सामाजिक संजालमा स्टाटस पोष्ट गरेकी छिन् ।
उनले लेखेकी छिन्–
‘मैले गरेका टिप्पणीहरु कमेडी कार्यक्रममा गरिएका थिए र ती टिप्पणीहरुलई कहिल्यै गम्भिरतापूर्वक लिइने अपेक्षा थिएन । उहाँको बौद्धिकताबाट प्रेरित मैले हाम्रा महानायकको बारेमा, उहाँको महान कार्य र योगदानहरुको बारेमा पनि धेरै राम्रा कुराहरु भनेकी थिएँ । तर, मेरै दुर्भाग्यवश ती अभिव्यक्तिहरु डिजिटल तारहरुबिच कही कतै हराए ।’
उनले, आफूले कसैलाई दोष नदिई, कुनै पनि बहाना नबनाई मनदेखि माफी मागेको उक्त स्टाटसमा उल्लेख गरेकी छिन् ।
