काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ सेवा बढाउन दरबन्दी थप गरिने बताएका छन् । बागलुङ नगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री बस्नेतले जनस्वास्थ्यका क्षेत्रमा समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै सरकारले थप दरबन्दीको व्यवस्था गर्ने बताएका हुन् ।
“सबैभन्दा पहिले चिकित्सा सम्बद्ध कर्मचारी दरबन्दी, बढाउने, आधुनिक उपकरणको व्यवस्था गर्ने तथा भौतिक संरचनाले स्वास्थ्य सेवा प्रदायक संस्थालाई सुसज्जित गरेपछि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुनेछ,” ३० वर्षअघिको दरबन्दी र पुरानो संरचनाबाटै स्वास्थ्य सेवा प्रवाह भइरहेको उल्लेख गर्दै मन्त्री बस्नेतले भने ।
सरकारले कूल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रलाई विनियोजन गर्नुपर्नेमा मन्त्री बस्नेतले जोड दिए ।
