सरकारले मलेसिया तथा खाडी मुलुकबाट अलपत्र परेका नागरिकलाई फर्काउन हवाइ भाडादर २२ हजारसम्म घटाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत बुधबार तोकेको भाडामा दुई पटक संशोधन गर्दै भाडा घटाएको हो।
सुरुमा तोकोको भाडामा सर्वत्र आलोचना भएपछि मन्त्रालयले शुक्रबार केही गन्तव्यको भाडा घटाएको थियो भने फेरि शनिबार खाडीलगायत श्रम गन्तव्य मुलुकको भाडा घटाएको छ। रोजगारीका लागि गएर हाल कामविहीन बनेका नेपाली ल्याउन साउदी अरबको ३ गन्तव्यको भाडादर फरक–फरक तोकेको छ। सुरुमा मन्त्रालयले साउदीको जेद्दा ९४ हजार भाडा तोकेकेमा हाल घटाएर २२ हजार घटाएर ७२ हजार रुपैयाँ तोकेको छ।
साउदीकै दमामको लागि सुरुमा ७२ हजार भाडा तोकेकोमा शनिबार करिब २० हजार भाडा घटाई ५२ हजार ५ सय रुपैयाँ तोकेको छ। त्यसैगरी साउदीकै रियादको सुरुमा तोकेको भाडादर ७७ हजार रहेको थियो। यहाँ पनि करिब २० हजार घटाई ५५ हजारमा भारेको छ।
सरकारले शनिबार तोकेको भाडा सामान्य अवस्थाको उडानभन्दा धेरै भए पनि सुरुमा तोकेभन्दा केही राहत हुने भएको छ।
चैतसम्म मलेसिया तथा खाडी मुलुकमा २५ हजारदेखि ३० हजारसम्म धेरै नेपाली जाने आउने गरेका थिए। तर सरकारले तोकेको मलेसिया तथा खाडी मुलुकको भाडा ६० हजारदेखि ७० हजारसम्म रहेको थियो।
विदेशमा रोजगारीविहीन भएका नागरिकसँग सरकारले हवाइ कम्पनीलाई लुट्न छुट दिएको भन्दै आक्रोश पोखेपछि सच्याइएको हो।
सरकारले सुरुमा दुवईको लागि सुरुमा तोकेको भाडा ६१ हजार रहेकोमा अब ४७ हजार ५ सयमा झरेको छ भने ओमान ६२ हजार तोकेकोमा ४५ हजारमा झारेको छ।
मलेसियाको क्वालालम्पुर ६३ हजार ५ सयबाट ४५ हजार ५ सयमा झारेको छ।
त्यस्तै बहराइन र दोहा ६६ हजार ५ सयबाट ४८ हजारमा झारेको छ भने कुवेत ६९ हजार ५ सय रहेकोमा अब घटेर ४९ हजार रुपैयाँ भाडा भएको छ।
जोर्डन ९९ हजार ५ सय भाडा घटाएर ८२ हजार ५ सय र साइप्र्रस १ लाख ७ हजार तोकेकोमा अब ८९ हजार भाडा रहेको छ।
श्रमको लागि विदेश जाने कामदारले जम्मा गरेको कल्याणकारी कोषमा करिब ६ अर्ब रुपैयाँ रोजगारीविहीन भएर उद्धार गर्दा समेत उपयोग नभएको भन्दै धेरैले असन्तुष्ट जनाएका छन्।
भाडादरमा परिवर्तन नभएका गन्तव्य
छिमेकी मुलुक भारतका विभिन्न सहरको हवाइ भाडामा भने सुरुकै मूल्य कायम गरेको छ। दिल्ली २५ हजार, मुम्बई ३८ हजार, बैंगलोर ४१ हजार भाडा तोकेको छ। बंगलादेशको भाडामा पनि सुरुको मूल्यमा कुनै परिवर्तन नभई २० हजार नै कायम गरिएको छ।
मन्त्रालयका अनुसार हङकङ ६६ हजार, ४७ हजार ५ सय, नारिता १ लाख १४ हजार, लण्डन १ लाख ५६ हजार, जर्मनी १ लाख ४५ हजार, अस्ट्रेलिया १ लख ९७ हजार, दक्षिण कोरिया १ लाख ६ हजार, कम्बोडिया ४८ हजार ८ सय रुपैयाँ भाडा तिरेर नेपाल आउन पाउनेछन्।
आजबाट उद्धार सुरु
आज (जेठ ३२)बाट विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार सुरु भएको छ। नेपाल वायुसेवा निगमको जहाजले बंगलादेशबाट करिब २ सय ६० जनालाई आज नेपाल ल्याउने त्यहाँ रहेको नेपाली राजदुतावासले जानकारी दिएको छ। सरकारको तालिकाअनुसार असार ११ गतेसम्म विदेशमा रहेका नेपालीको उद्धार हुनेछ।
यसअघि युएईबाट १६८, कुवेतबाट ४४९, म्यान्मारबाट २६, अष्ट्रेलियाबाट ११ र जापानबाट ६ जना नेपाल फर्किएका छन्। कुवेतबाट आएका एक जनामा कोरोना पोजेटिभ देखिएकाले तत्कालको लागि उडान रद्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
