काठमाडौँ- रुकुम पश्चिमको चौरजहारी हत्याकाण्डमा सरकारी वकिल कार्यालयले ३४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गर्दा पीडित किशोरीका परिवारका चार जना पनि परेका छन्। पीडित किशोरी, उनका बुबाआमा र दाजुबिरुद्ध कर्तव्यज्यानमा सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको छ।
पीडित किशोरीका भाइ र भाउजुलाई भने मुद्दा चलाइएको छैन।
जिल्ला सरकारी वकिल कार्यालयले आइतबार मुद्दा पेश गरेको हो। प्रतिवादी बनाइएकामध्ये पाँच जना फरार छन्। प्रहरी अनुसन्धानले मारिएका सबै ६ जनालाई गाउँलेले कुटेर बेहोस अवस्थामा खोलामा फालेको निष्कर्ष निकालेको छ।
मुद्दा दायर गरिएकामा वडाध्यक्ष रेशमबहादुर मल्ल र उनका भाइ डम्बरबहादुर मल्लसमेत छन्। त्यस्तै, अर्को एकै परिवारका बुबाआमासमेत छ ६जनाको ज्यान गएको उक्त घटनामा प्रतिवादी बनाइएका छन्।
३४ जनालाई नै कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय छुवाछुतलगायत मुद्दा लगाइएको ती अधिकारीले जानकारी दिए।
जाजरकोटको भेरी नगरपालिकाका नवराज विक चौरजहारी-८ सोतीमा रहेकी ठकुरी परिवारकी प्रेमिका लिन १९ जना युवाहरु लिएर जेठ १० गते सोती पुगेका थिए। साँझतिर सोती पुगेका उनीहरुलाई गाउँलेले लखेटेका थिए।
