भारतका चर्चित गीतकार जावेद अख्तर र बलिउड अभिनेत्री कंगना रनौतबीच कानुनी झमेला सजिलै सुल्झिने देखिँदैन । गीतकार अख्तरले लगाएको मानहानीको मुद्दालाई कंगनाले चुनौती दिएकी छन् ।
अख्तरले कंगनाविरुद्ध दर्ता गरेको आपराधिक मानहानीको मुद्दा सिटी मजिस्ट्रेटले कारबाही सुरु गरिसकेको छ । यही कारबाही रद्द गर्न माग गर्दै कंगनाले बम्बे उच्च अदालतको ढोका ढकढकाएकी छन् ।
अन्धेरी मेट्रोपोलिटन मजिस्ट्रेटको अदालतले प्रहरीको रिर्पोटको आधारमा विनाकुनै अन्य प्रमण कंगनाविरुद्ध कारबाही सुरु गरेको कंगनाका वकिल रिजवान सिद्दिकीले दाबी गरेको छ । यसका साथै वकिल सिद्दिकीले अदालतले आवश्यक अनुसन्धान विना नै कारबाही सुरु गरेको पनि निवेदनमा उल्लेख गरेको छ ।
कंगनाले दिएको निवेदनको सुनुवाई अबको हप्ता हुँदैछ ।
जावेद र कंगना बीचको कानुनी लडाइको सुरुवात
जावेद र कंगना बिचको कानुनी लडाइको सुरुवात गर्त वर्ष भएको थियो । कंगनाले एक भारतीय टेलिभिजनलाई अन्तरवार्ता दिने क्रममा अख्तरविरुद्ध टिप्पणी दिएकी थिइन् । जसपश्चात् सन् २०२० नोभेम्बरमा अख्तरले मजिस्ट्रेट अदालतमा कंगनाले निराधार टिप्पणी दिएको भन्दै आपराधिक मानहानीको मुद्दा दर्ता गरेका थिए ।
जावेदकको मुद्दापछि अदालतले डिसेम्बरमा जुहु प्रहरीलाई यस मामलामा जाँच गर्न आदेश दिएको थियो । त्यो समयमा प्रहरीले यस विषयमा राम्रोसँग जाँच गर्नुपर्नेमा जोड दिएको थियो ।
यस्तै अदालतले सन् २०२१ फेब्रअरीमा कंगनाविरुद्ध कारबाही सुरु गर्दै उनलाई बयान दर्ता गराउन बोलाएको थियो ।
