काठमाडौं । फरक क्षमता भएका बालबालिकाका लागि ‘वीण्डी हाउस स्कुल’ एउटा दर्बिलो साहारा र आशाको किरण बनेको छ। सर्वसुलभ शुल्कमै गुणस्तरीय शिक्षा र माया पाइने यो विद्यालय अटिज्म भएका बालबालिकाका लागि अहिले भरपर्दो गन्तव्य बनेको छ।
काठमाडौंको बालुवाटारमा रहेको वीण्डी हाउसको पहिचान नेपालमा मात्रै सीमित छैन। सस्तो शुल्कमै विश्वस्तरीय वातावरण पाइने भएकाले यहाँ बेलायत, अष्ट्रेलिया र जापानमा रहेका नेपालीका बालबालिकाले अध्ययन गरिरहेका छन्। शिक्षा र हेरचाहको गुणस्तरमा कुनै सम्झौता नगर्ने वीण्डी हाउसको नीतिछ ।
अटिज्म भएका बालबालिका र उनीहरूका अभिभावकका लागि वीण्डी हाउस एउटा विद्यालय मात्र नभएर ‘दोस्रो घर’ बनेको छ। बाहिरी संसारले जसलाई ‘फरक’ भनेर बेवास्ता ग¥यो, यो विद्यालयले उनीहरूलाई ‘विशेष’ मानेर आत्मियताका साथ अँगालेको छ। वीण्डी हाउसको पढाउने शैली अन्य सामान्य विद्यालयहरूभन्दा नितान्त फरक छ। यहाँका भित्ताहरूमा घोकन्ते अक्षर होइन, बालबालिकाका भावना र उनीहरूका रुचिहरू कोरिएका छन्। यहाँ हरेक बच्चाको आफ्नै छुट्टै संसार छ। बालबालिकाको मनोविज्ञान गहिरोगरी बुझेका विशेषज्ञ र तालिमप्राप्त शिक्षकहरूले प्रत्येक बच्चाको क्षमताअनुसार छुट्टाछुट्टै सिकाइ पद्धति तयार गर्छन्।
साथै बालबालिकासँग साथीजस्तै बनेर खेल्ने थेरापिस्टहरू भेटिन्छन्। तिनै थेरापिस्टहरूले बालबालिकालाई मायालु वातावरणमा ‘स्पिच’ र ‘अकुपेसनल थेरापी’ दिन्छन्। कुनै दबाबविना बालबालिकाहरू खेल्दाखेल्दै, गाउँदा गाउँदै र रमाउँदा–रमाउँदै आफ्ना दैनिक कामहरू आफैँ गर्न र आत्मनिर्भर बन्न सिकिरहेका छन्।
