काठमाडौं। उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी निरीक्षक सुरज खत्री साउन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन्। लगनशीलता, कर्तव्यनिष्ठा तथा अपराध अनुसन्धान र प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गरेको मूल्यांकन गर्दै उनलाई सम्मान गरिएको हो।
कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काले खत्रीलाई प्रशंसापत्र प्रदान गरेका छन्। नागरिकलाई सुरक्षाको अनुभूति दिलाउन तथा प्रहरी संगठनको गरिमा बढाउन पुर्याएको योगदानको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको कार्यालयले जनाएको छ। इन्स्पेक्टर सुरज खत्रीले गुण्डागर्दी, अपहरण, हत्या लगायतका जघन्य तथा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गरेको भन्दै उक्त पुरस्कार दिईएको हो ।
उनकै नेतृत्वमा रहेको टोलीले केही दिनअघि कलंकीबाट एक युवकलाई अपहरण गरी नागार्जुनमा बन्धक बनाइएको घटनाको सफल अनुसन्धान गरेको थियो। अपहरणपछि युवकलाई प्लास्टिकको पाइपले कुटपिट गर्दै यातना दिइएको र परिवारसँग १८ लाख रुपैयाँ फिरौती मागिएको खुलेको थियो। प्रहरीले घटनाको अनुसन्धान गर्दै बन्धक बनाइएका युवकको सकुशल उद्धार गर्नुका साथै अपहरणमा संलग्न सात जनालाई पक्राउ गरेको थियो।
प्रहरी निरिक्षक खत्रीलाई एक काबिल जिम्मेवार, अनुशासित र परिणाममुखी प्रहरी अधिकृतका रूपमा चिनिन्छ।
