सुखको खोजीमा गाउँबाट सहर पस्नेको संख्या दिनानुदिन बढ्दैछ। यसरी गाउँ छाड्नेहरू संर्घषको भुमरीमा परेर सहरमै जेलिन्छन्। कोही कोही मात्र गाउँ फर्कन्छन्। अझ विदेशमा पुगेर उतैको आवासीय सुविधा पाइसकेकाहरू नेपाल फर्केका उदाहरण विरलै भेटिन्छ। त्यस्तै एक अपवाद हुन्–इन्द्र बहादुर गुरूङ
हङकङको रमझमबाट वाक्क भएर उनी गाउँ फर्केको आउँदो साउनमा तीन वर्ष पुग्छ। यतिबेला उनी पोखरा नजिकैको गाउँमा बसेर खेतीपाती गर्दैछन्। कहिले चियाबारीमा डुल्छन्। कहिले आफैंले रोपेका कागती, ओखर र जापानी कटुस (मेकाडोनिया) का फेदमा उम्रेका घाँस उखेल्छन् त कहिले तरकारी गोडमेल गर्छन्। उनको बगैंचामा सिमी हरियो भइसक्यो।
गोठमा बाख्रा छन्। कुखुरा पनि पालेका छन्। बिहान उठ्यो कुखुरालाई चारो हाल्यो, खेतबारी गोडमेल गर्यो। खाना पकायो। दिन त मिलिक्कै वितिहाल्छ। श्रम गर्दा पसिना चुहिन्छ। शरीर स्वस्थ्य बन्छ।
म्याँ! म्याँ! बाख्राको आवाज। आँगनमा डुल्दै गरेका कुखुरा। भुरर्रभुर्र उड्ने चरा। तिनको चिरबिर। चारैतिर हरियाली। 
अहा ! कति मिठो गाउँले जीवन !
माछापुच्छ्रे गाउँपालिका–८, कास्कीको पहाडी गाउँ ‘ल्वाङ’ मा मस्त छन् इन्द्र बहादुर। जीवनका २५ वसन्त विताएको गाउँमा २५ वर्षपछि फर्केका उनी आफ्नै बारीमा फलेका उत्पादन खाँदै एकान्तमा बस्दा मनमा शान्ति छाउँछ। हङकङको त्यत्रो रमझम त्यागेर उनी गाउँमा रमाएको देख्दा छिमेकीहरू अचम्मित बनेका छन्।
यतिबेला कोरोना भाइरसले सहर आतंकित छ। त्यसो त गाउँमा पनि डर छ। तर, पनि खुला ठाउँ भएकाले गाउँमा सचेत भएर हिँडडुल गर्न पाइन्छ। खेतीपाती, मेलापर्म र उकालीओराली चलिरहेकै छ गाउँमा। गाउँले जिन्दगीमै आनन्द भेटिन्छ।
‘धमाधम प्याज उखेल्दै छु। कागती गोड्ने बेला हुँदैछ’, इन्द्र बहादुरले सेतोपाटीसँग भने, ‘मैले प्याजको जिम्बु बनाएको छु। लसुन थन्काइसकेँ। मुलाको गुन्द्रुक पनि बनाएको छु।’
उनको गाउँ ल्वाङ ग्रामीण पर्यटनको नमुना गन्तव्य हो। निषेधाज्ञा भएसँगै गाउँमा पर्यटन आवागमन ठप्प छ। निषेधाज्ञा नहुँदा उनको घरमा पनि पाहुना राखिन्थ्यो। गाउँको सामुदायिक होमस्टेले आलोपालो प्रणालीमा घरघरमा पाहुना बाँडेर राख्छ। होमस्टे नं १९ उनको। 
गाउँका अरू घरमा होमस्टे सञ्चालकले नै खाना बनाएर खुवाउँछन्। उनकोमा भने पाहुना आफैं भान्छामा बसेर मन लागेका परिकार बनाउँछन्। त्यसका लागि आवश्यक खाद्यान्नको जोहो भने उनैले गरिदिन्छन्।
यसरी गाउँमा रमेको छ उनको मन। सुविधायुक्त सहर हङकङ उनले किन छाडे त?
‘सपनामा सधैं ल्वाङ गाउँ नै देख्थेँ’, उनले गाउँ फर्कनुको कारण सुनाए, ‘उता बस्दाबस्दा वाक्कै लागेर नेपाल फर्केको। आफ्ना बाउबाजेले खनिखोस्री गरेको ठाउँमा केही गर्नुपर्छ। दुई–चार जनालाई रोजगारी दिनुपर्छ भन्ने लाग्यो। आखिर पैसा कमाएर मात्र के नै हुन्छ र? मरेर के नै लानु छ र?’
उनी यता छन्। उनको परिवार उता हङकङमा।
‘कान्छो छोरा १६ वर्षको भयो। अब दुई वर्षपछि श्रीमती पनि यतै फर्कनेछिन्’, इन्द्रबहादुरले भने, ‘अनि बाँकी जिन्दगी पनि सँगसँगै गाउँघरमै विताउनेछौं।’ अर्थात विकसित सहर। त्यहाँ हरेक कुरा सिष्टममा चल्छ। तर जिन्दगीको दौडधुप भने चर्कै हुन्छ।
उनकी ८१ वर्षिया आमा पोखरामा बस्छिन्। उनी दिनको दुई पटक आमालाई फोन गर्छन्। आफूले उत्पादन गरेका अन्न, तरकारी र फलफूल फल्ने वित्तिकै पहिला आमालाई चखाउँछन्।
उनले गाउँ फर्केर पुर्खौली जमिनमा कागती, दाँते ओखर र जापानी कटुस खेती गरे। गोठमा १० वटा बाख्रा र केही कुखुरा पालेका छन्। पुरानो चिया बगान छँदैछ। त्यसबाहेक मकै, कोदो, भटमासलगायत खेतीबाली गर्नैपर्यो। उनले गाउँका प्रत्येक घरलाई तीन–तीन वटा कागतीका विरूवा पनि बाँडे।
जिन्दगीमा मान्छेले कमाउने भन्ने कुरा नै आत्मसन्तोष हो। सामाजिक कामबाट त्यस्तो सन्तुष्टि मिल्छ। हङकङमा छँदै उनी सामाजिक काममा सक्रिय हुन्थे। यता गाउँमा पनि सामाजिक गतिविधिमा अगुवाई गर्छन्। ल्वाङबाट धम्पुस जोड्ने सडकको उपभोक्ता समिति अध्यक्ष भएर सबैको स्याबासी कमाए। अहिले उनी गाउँको बाराही आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन्। 
गाउँमा मेलमिलापको वातावरण बनाउन र सबैलाई एकजुट बनाउन उनी अगुवाई गर्दैछन्।
उनको बाल्यकाल दुःखमा वित्यो। गाउँमा गरिबी थियो। तिनताका घरबाट ४५ मिनेट लाग्थ्यो श्री बराह माध्यमिक विद्यालयमा पुग्न। फर्कंदा भने सभा घण्टा लाग्थ्यो। पैसाको अनुहार देख्न मुस्किल थियो। पैसा भइहालेमा किनेर खाने पसल पनि थिएनन्। त्यसैले उनी स्कुल जाँदा झोलामा अलिकति भुटेको मकै बोकेर जान्थे। अनि स्कुलबाट फर्कंदा मर्याङमर्याङ चपाउँदै फर्कन्थे।
स्कुल जानु अघि गाईभैंसीका लागि घाँस काट्नुपथ्र्यो। घरमा दुई–चार वटा भैंसी र दुई–चार वटा बाख्रा टुट्दैनथे। गोठमा भने थुप्रै गाई हुन्थे। 
उनले वि.सं २०४५ सालमा एसएलसी दिए। कक्षा १० मा ५६ विद्यार्थी थिए। उनको रोल नम्बर ५३ थियो। रेगुलर एसएलसीमा जम्मा १२ जना उतिर्ण भए। एसएलसी पढ्ने बेलामा उनले पोखरामा बसेर ट्युशन पढेका थिए। पैसा थिएन, त्यसैले पृथ्वीनारायण क्याम्पस पोखराका उपप्राध्यापकद्वय लिलाबहादुर गुरुङ र नारायण गुरुङले उनलाई सित्तैंमा ट्युशन पढाइदिए। तिनकै सुझावअनुसार उनी एसएलसी सकेर पृथ्वीनारायण क्याम्पसमा दुई वर्ष आई.एड पढे।
पोखराको डेरामा बसेर पढ्न सजिलो थिएन। त्यसैले आमाको गहना बेचेर पढे उनले।
दुःखले कलजे पढ्दै थिए। केही आम्दानी गर्ने सोच बन्यो। त्यसैले अरू पाँच जना साझेदारहरू राधेश्याम कमारो, इन्द्रबहादुर भारी, दलबहादुर गुरूङ, हितकाजी गुरूङ, सुरेन्द्र गुरूङसहित ६ जना मिलेर उनीहरूले दुईटा मिनिबस किने। ‘माछापुच्छ्रे मिनि ट्राभल्स’ को नाउँमा ती गाडी काठमाडौं–पोखरा चल्न थाले। उनीहरूले पोखराको अन्नपूर्ण फाइनान्स कम्पनीबाट ऋण लिएर किनेका। ऋण झिक्न उनलाई कलेजमा नेपाल परिचय पढाउने गुरू कृष्णबहादुर गुरूङले सहयोग गरेका थिए।
अल्लारे उमेर, जस्तो कमाई उस्तै खर्च। फेरि बसका गुरुजीहरू विभिन्न बहानामा खर्च गराउँथे। गुरूजी मोटाउँदै गए भने बस धनी दिनदिनै दुब्लाउँदै गए।
घाटामा गयो बस व्यवसाय। पछि साझेदारहरूले छोडिदिए।
त्यही बेला उनको विवाह भयो–अर्मला गाउँकी पवित्रादेवीसँग। उनी हङकङको आइ.डि. होल्डर थिइन्। बिहे पछि उनलाई विदेश जाने दबाब बढ्यो। बिहे गरेको केही समयमै उनीहरू हङकङ उडे, १९ नोभेम्बर १९९४ का दिन।
उता उड्दा यता १९ लाख रूपैयाँ ऋण थियो। उता पुगेर जति कमाउँथे, उति ऋण तिर्दै जान्थे।
समयक्रममा उनका तीन सन्तान जन्मिए। २ छोरी र १ छोरा। जेठी छोरी इलमी भइसकिन्, माइली छोरी र कान्छो छोरा पढ्दैछन्। 
हङकङको जीवन भागदौडमै वित्यो। त्यहाँको एउटै कम्पनीमा २५ वर्ष काम गरे। त्यही कम्पनीकै काममा बीचका साँढे ४ वर्ष न्युजिल्याण्ड र अढाई वर्ष दक्षिण अफ्रिकामा काम गरे।
जिन्दगी संघर्षमै वित्यो। अबका केही वर्ष सन्तानको पढाईमा ध्यान दिनु पर्नेछ। त्यसपछि जीवनसाथी पवित्रादेवी पनि गाउँ फर्कनेछिन्।
मातृभूमिमा बसेर प्रेरणादायी जीवन बाँच्न पाउँदा इन्द्रबहादुर खुसी छन्।
उनको ल्वाङ गाउँ पोखराबाट २२ किलोमिटर दूरीमा छ। गाउँ आफैंमा रमणीय पर्यटन गन्तव्य हो। हिमाली सौन्दर्य, गुरूङ जीवनशैली, क्यानोनिङ र चियाबारी ल्वाङका विशेषता। त्यहाँ गुरूङ र दलित समुदायको बसोबास छ।
गाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण साउथ र हिमचुली हिमाल देखिन्छ। त्यहाँ गुम्बा, छोर्तेन, शिव मन्दिर, चौबिसे राज्यकालको गढी, घट्टेखोला झरना आदि सम्पदा छन्। झरनामा क्यानोनिङ सुविधा पनि छ।
गाउँबाट प्याराग्लाइडिङ उडान समेत हुन्छ। मर्दि हिमाल पदयात्रा गर्दा ल्वाङ गाउँमा बास बस्न सकिन्छ। ल्वाङ आफैंमा पनि रमणीय भएकाले त्यहाँ दुई रात सजिलै विताउन सकिन्छ। 
त्यहाँका दुई दर्जन घरमा होमस्टे सुविधा छ। होमस्टेका भान्छामा अर्गानिक परिकार पाक्छ। रोटी, ढिँडो, लोकल कुखुराको मासु, भात, गुन्द्रुक र सिजनअनुसारको तरकारी पाइन्छ।
कोरोना भाइरस पराजित भएसँगै फेरि जनजीवन पुरानै लयमा फर्कनेछ। अनि ल्वाङ गाउँमा पनि पर्यटकीय चहलपहल हुनेछ।
त्यतिबेला पोखरा पर्तिरको सुन्दर गाउँ ल्वाङ घुम्ने योजना बनाउनु बेस हुन्छ। ल्वाङ घुम्दा इन्द्रबहादुर गुरूङको जीवनकथा उनकै मुखबाट सुन्न पाउँदा झनै प्रेरणा मिल्नेछ। सलाम छ गाउँको सेवा गर्न फर्केका इन्द्रबहादुरलाई!
सम्पर्क: इन्द्र बहादुर गुरुङ–९८१३४४७८९२
