तपाईंहरुको आरोप छ नि !
३० तले बिल्डिङको १५ औं तलामा रहेको अपार्टमेन्टमा बसेर ,कोठामैं ल्यापटबाट काम गरेर पूरा तलब खाने, अनलाइनबाट खाना अर्डर गरेर क्रेडिट कार्ड घोटेर ‘पे’ गर्ने नेपालीहरुले मात्रै अहिले नेपाल जान हतार नगर्नुस् भने ! जागीर गुमाएका ,बेतलबी बिदामा बसेका, मासिक ८०० तलब खानें, भिसा सकिएका ,भिजिट भिसामा रहेका मान्छेहरुको पीडा यिनीहरूलाई के थाहा !!
तर एउटा कुरा भनौं ?
आत्तिएर ,अत्याउन खोजेर, सहानुभूति बटुल्न , ओभर कन्फिडेन्स भएर, सरकार या सरकारी निकायको समर्थन या पक्षपोषण गर्न मैले यी कुरा भनिरहेको छैन । अहिले मेरो आफ्नै दैनिक नियति के छ भने अहिले म अति उच्च जोखिम मोल्दै दैनिक न्युनतम १८ घन्टा काम गरिरहेको छु । तपाईंहरु मध्ये कैयनलाई लकडाउनको फुर्सदले टाउकाको केश गन्दै बसेको मजाक स्टाटस रातको २ बजे पढ्दै गर्दा म भर्खर एक सुस्केरा खुई…… बिसाउँदै टुर्लुङ्ग चाउचाउको झोल सँग बिहान ७ बजे गर्नुपर्ने कामको सेड्युल तयार गर्दैछु ।
यतिसम्म त यो मुलाले आफ्नो गनगन पोख्यो भनेर सोच्नुहोला ! ल भैगो यसलाई पनि बिर्सिदिनुस् । तर तपाईंले जीवन मरणको सवाल सम्झेको र नामै सुन्न नचाहने कोरोनासँग म आँखा चिम्लेर अन्धाधुन्ध लडिरहेको छु । ५०० जना भन्दा बढी मान्छे बस्ने मेरो निवासमा हिजोको दिन मात्रै एकजना संक्रमित भएको प्रमाणित भएको छ । यद्यपि म ओहो ! हाम्रै घरमा आइसकेछ भनेर लुकेर ,डराएर भागेर बस्न पाउँदिन । मेरो जिम्मेवारी र चुनौती झन् थपिएको छ । चेकजाँच गरेको छैन ,यदी गर्ने हो भने मपनि संक्रमित देखिने आधार ९९% छ । मेरा प्रिय आफन्त र मलाई माया गर्नेहरुलाई यो खबर सुन्दा साह्रै अप्रिय लाग्ला ! मन आत्तिएला ! तर यथार्थ यही हो । तर मैले तपाईंहरु सामू देखावटी बहादुरी प्रदर्शन गर्न खोजेको हैन ,मलाई अझैपनि रत्तिभर डर छैन । किनकि संक्रमित हुनेबित्तिकै मरिने हैन । अझैपनि कोरोनाको मृत्युदर ६/७% मात्रै छ। र म त्यो कायर मध्येको हैन जो १०० जनामा ७ जना मर्दा म पनि मर्छु भनेर आत्तिने !! मलाई विश्वास छ कथं कदाचित मलाई भएको रहेछ भनेपनि म विजय हासिल गर्नेछु ।
मैले यो प्रसंग किन जोडेको भने तपाईंहरुले आरोप लगाए झैं यहाँ कोठाभित्र लुकेर अनलाइनबाट खाना अर्डर गरेर खानेले मात्रै देश फर्किन हतार भयो भनेका छैनन् । म जस्तो जीवन र मृत्युको दोसाँधमा लड्दै १८ घन्टा उच्च जोखिमको काम गर्ने मान्छेपनि भन्छु – अहिले देश फर्किन हतार नगर्नुहोस् ! हामी एक दुई जना मरिहाले पनि केही हुँदैन तर हाम्रो कारण सिंगो मुलुक मर्न हुँदैन । अहिले राजनीतिक प्रतिशोध साँधेर कसैलाई पेल्ने बेलापनि हैन । हामीलाई हाम्रो राज्यको विवशता ,वाध्यता, बिडम्बना ,लाचारी सबै थाहा छ र अहिले हामीले राजनीतिक प्रतिशोध पोख्दैमा यी समस्या छु: मन्तर भएर जानेपनि हैन । जब समाधान नै छैन भने त्यही समस्याको घाउ किन कोट्याइरहनु ? राष्ट्रको नाममा जम्मा २ वटा एअर बस भएको मुलुकका नागरिकले ५० लाख प्रवासीले अहिले भर्खर फर्किन पाउनुपर्छ भनेर कोसँग किन लाप्पा खेल्नु ?
त्यसैले जहाँ हुनुहुन्छ सकेसम्म सुरक्षित रहने प्रयास गर्नुहोस् , कथं कदाचित संक्रमित भइहाल्नु भएछ भनेपनि हिम्मत नहार्नुहोस्, आत्मबल कमजोर नबनाउनुहोस् ! आत्मबल नै सबैभन्दा ठूलो उपचार हो ।
अन्त्यमा, मलाई सामाजिक सञ्जलामा म्यासेज मार्फत बोलाउनु हुने, ट्याग मार्फत झस्काउनु हुने र मनैमनमा सम्झना गर्नुहुने तपाईंहरु सबैलाई धन्यवाद दिंदै अझै केही समय तपाईंहरुसँग प्रत्यक्ष जोडिन नसक्ने जानकारी गराउँदछु । ठूलो भएको नसम्झनुहोला ! यो बीचमा मसँग सयौं अनरिड म्यासेज छ्न् ,तपाईहरु सबैलाई यही स्टाटस मार्फत सम्झना !
#Stay_Safe
स्रोत: फेसबुक – जे सागर (J sagar)
