आइतबार राति हुने अमेरिकन आइडलको फाइनललाई लिएर ‘अनर्थर गन’ उर्फ दिवेश पोखरेल केही नभर्स छन् । सायद, तपाईहरु पनि हुनुहुन्छ होला ।सिजनको अन्त्यतिर क्वारेन्टाइनबाटै प्रतिस्पर्धीहरुले आफ्नो प्रस्तुति दिइरहेका छन् । अनि, अमेरिकीन आइडलका अन्तिम ७ प्रतिस्पर्धीमध्ये एक आर्थर गनले उपाधि जित्नसक्ने अड्कल धेरै अनलाइन सर्वेक्षणहरुले गरिरहेका छन् । अमेरिकी समयअनुसार साँझ ७ बजे एबिसी, च्यानल १० मा यो शो सुरु हुनेछ ।
आर्थर अबेर रातिसम्म आफ्ना गीतहरुको तयारी गर्छन् । ‘आइतबारलाई लिएर धेरै नर्भस छु,’ आफ्नो परिवार बस्ने कान्सासको पूर्वी विचिटास्थित घरबाट उनले भने । कोराना भाइरसका कारण देशव्यापी सटडाउन भएको अवस्थामा यहीबाट उनले विगत केही सातादेखि प्रस्तुती दिइरहेका छन् । ‘यो ठूलो दिन हो । यो निकै स्मरणीय छ,’ उनले भने ।आइतबारको फाइनल सुरु हुनासाथ ७ प्रतिस्पर्धीमध्ये २ जना बाहिरिनेछन् । र बाँकी रहेका गायक–गायिकाले दुई वटा गीत प्रस्तुत गर्नेछन् । विजेताको टुंगो दुई घण्टा लामो लाइभ रियल टाइम भोटिङबाट लाग्नेछ ।
दर्शकमाझ लोकप्रिय डिल्लन जेम्स र १९ वर्षीय क्यालिफोर्नियाका फ्रान्सिस्को मार्टिनसहित अन्य ६ प्रतिस्पर्धीविरुद्ध आर्थर छन् । तर धेरै अनलाईन सर्वेक्षणले आर्थर उत्कृष्ट पाँचभित्र पर्ने र सम्भवत उनले नै ताज जित्ने अड्कल लगाएका छन् ।आफ्नो पृथक स्वरका कारण उनले दर्शक र निर्णायकलाई प्रभावित गरेका छन् । क्रिडेन्स क्लियरवाटर रिभाइभल, विनोनी हेयर्स र जोन डेन्भरजस्ता कलाकारको गीतमा उनले सिजर्नात्मक प्रस्तुति दिएका छन् । उनको विनम्रता र मुस्कानले टेलिभिजनमा धेरैलाई आकर्षित गरेको छ । त्यसैले उनले राम्रो मत निकाल्ने अनुमान गरिएको छ ।सेलिब्रेटी निर्णायक केटी पेरी, लियोनल रिची र लुक बार्यनले पुरै सिजनभर उनको प्रशंशा गरेका छन् । उनीहरुले यी कलाकारमा ठूलो स्टार र व्यवसाहिक संगीतकार बन्ने संभावना रहेको बताएका छन् ।
गोल्ड डर्बीको सर्वेक्षणमा आर्थर अघि :
यस रियालिटी शोको फाइनलको पूर्वसन्ध्यामा गोल्ड डर्बीले गरेको अनलाईन सर्वेक्षणअनुसार आर्थर गन सबैभन्दा अगाडि छन् । उनको पक्षमा ३१ प्रतिशत समर्थक देखिएका छन् भने जस्ट सामका पक्षमा २१ प्रतिशत देखिएका छन् ।सर्वेक्षणअनुसार अन्य प्रतिस्पर्धी जोनी वेस्टको पक्षमा १४ प्रतिशत, डिल्लोन जेम्सको पक्षमा १२ प्रतिशत, फ्रासिस्को मार्टिनको पक्षमा ११ प्रतिशत, जुलिया गार्गानोका पक्षमा ७ र लुईस नाइटका पक्षमा ४ प्रतिशत समर्थक देखिएका छन् ।
काठमाडौंदेखिको यात्रा :
गनको अमेरिकन आइडल यात्रा सेप्टेम्बरमा सुरु भयो । बाल्यकालदेखि नै संगीत आर्थरको जीवनको पाटो थियो । सानैमा आमाले उनलाई गिटार किनिदिएकी थिइन् । तर, ६ वर्षअघि विचिटा आउनुअघि उनले संगीतलाई सोखका रुपमा मात्रै लिएका थिए । १९ औं शताब्दीका फ्रेन्च कवि आर्थर रिमबाडउबाट प्रभावित भएर उनले आफ्नो स्टेज नाम ‘आर्थर गन’ राखेका हुन् । २२ वर्षीय गनको वास्तविक नाम दिवेश पोखरेल हो र उनी काठमाडौंमा जन्मिएका हुन् । उनले अमेरिकन आइडल सानैदेखि अनलाईनमा हेर्ने गरेका थिए । काठमाडौंबाट उच्च शिक्षा सकेपछि उनी आफ्नो पढाई पूरा गर्न दिदीहरुसँगै बस्न अमेरिकाको विचिटा आइपुगे, केही समयपछि बाबु–आमा पनि अमेरिका आए । अमेरिकन आइडलमा गएर चर्चा बटुल्नअघि नै उनले २०१८ मा नेपाली गीतको एल्बम ‘ग्रहण’ सार्वजनिक गरिसकेका थिए ।
