आइतबार बिहान बाँकेको क्वारेन्टिनमा मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आइतवार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाका कारण अर्का एक व्यक्तिको मृत्यु भएको पुष्टि गरे।
बाँकेको नैनापुरका २५ वर्षीय युवकको मृत्यु भएको र उनमा कोरोना संक्रमण पुष्टि भएको देवकोटाले जानकारी दिए। मृत्यु हुनुअघि आइतबार बिहान ४ बजेतिर उनले अचानक दुई पटक बान्ता गरेका थिए।
योसँगै नेपालमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। यसअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा कोरोना भाइरसको पुष्टि भएको थियो।
