बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला आठ सय रुपैयाँ बढेको हो। बुधबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला ३० रुपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।]
नेपालमा सुनचाँदी व्यवसायी संघले सुनको मूल्य निर्धारण गर्छ । र, सोही अनुसार बजारमा कारोबार हुन्छ । सुनचाँदी व्यवसायी संघका पूर्व अध्यक्ष मणिकरत्न शाक्यका अनुसार नेपालमा सुनको मूल्य निर्धारणका लागि पहिले न्यूयोर्क एक्चेञ्ज अर्थात अन्तर्राष्ट्रिय बजारको कारोबार दरलाई आधार लिइन्छ ।
यसका साथै अन्य खर्चमा भन्सार, ह्यान्डलिङ शुल्क र मुनाफा जोडिन्छ । जसमा मुनाफा ०.५ प्रतिशत आयातकर्ता बैंकले र ०।५ प्रतिशत सुनचाँदी व्यवसायीले राख्ने गरेको शाक्यको भनाइ छ । यसरी कायम हुन आएको सुनको मूल्य नै सो दिनको कारोबारका लागि निर्धारण गरिन्छ ।
