काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्य वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा २ सय रुपैयाँले वृद्धि भएको हो ।
अघिल्लो दिन अर्थात सोमबार ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको भाउ भने आजका लागि ९५ हजार १ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, उक्त दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार १ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ ।
नेपालमा सुनचाँदी व्यवसायी संघले सुनको मूल्य निर्धारण गर्छ । र, सोही अनुसार बजारमा कारोबार हुन्छ । सुनचाँदी व्यवसायी संघका पूर्व अध्यक्ष मणिकरत्न शाक्यका अनुसार नेपालमा सुनको मूल्य निर्धारणका लागि पहिले न्यूयोर्क एक्चेञ्ज अर्थात अन्तर्राष्ट्रिय बजारको कारोबार दरलाई आधार लिइन्छ ।
यसका साथै अन्य खर्चमा भन्सार, ह्यान्डलिङ शुल्क र मुनाफा जोडिन्छ । जसमा मुनाफा ०.५ प्रतिशत आयातकर्ता बैंकले र ०।५ प्रतिशत सुनचाँदी व्यवसायीले राख्ने गरेको शाक्यको भनाइ छ । यसरी कायम हुन आएको सुनको मूल्य नै सो दिनको कारोबारका लागि निर्धारण गरिन्छ ।
