काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११औँ शिखर सम्मेलन बिहीबार सोल्टी होटलमा सुरु भएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको ११औँ शिखर सम्मेलनको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले उद्घाटन गरिन् । उद्घाटनका क्रममा मन्त्री भट्टराईले अनुसन्धानबाट निस्कने निष्कर्षबाट नीति तथा योजना बनाउन सरकारलाई सहज हुने बताइन् ।
उनले सम्मेलनको सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चित गर्ने गरी मार्गनिर्देश गरोस भन्दै सफलताको शुभकामना दिइन् । उनले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् नेपालको स्वास्थ्य सुधारका लागि आवश्यक नीति बनाउन मार्गनिर्देश गर्ने एउटा जिम्मेवार संस्था भएका कारण यो सम्मेलनलाई नेपाल सरकारले विगत बर्षदेखिनै प्राथमिकतामा राख्दै आएको बताइन् ।
उद्घाटन सत्रका अध्यक्ष तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्ष डा अजित रायमाझीले परिषद्को यो सम्मेलनले नेपालका स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानकर्ताहरुलाई एकै थलोमा भेला गरी नेपालको स्वास्थ्य क्षेत्रको दिगो बिकासका लागि मार्ग निर्देश गर्नुका साथै अन्तर्राष्ट्रसँगको अध्ययन अनुसन्धानलाई फराकिलो बनाउन मदत पुर्याउँने लक्ष्य लिएको बताइन् ।
