काठमाडौँ । समाज हरेक दिन परिवर्तन भइरहेको छ, र यसको असर हामीले परम्परागत रूपमा मनाउँदै आएका महिला विशेष चाडपर्वहरूमा पनि स्पष्ट देख्न सक्छौँ। आजका महिलाहरू बिना संकोच, बिना बन्धन र बिना कुनै प्रतिशोध चाडपर्व अनुरुप आफूलाई जे राम्रो लाग्छ, त्यो अपनाउन पूर्णतया सफल रहेका छन्। यो एकातिर समाजका लागि एउटा चुनौती हो भने अर्कोतिर एउटा सुनौलो अवसर पनि हो। यो एउटा यस्तो अनुभव हो जसले महिलाहरूलाई हरेक दिन नयाँ सोच्न, आफूलाई परीक्षण गर्न र आफ्नो सम्बन्धको गहिराइ बुझ्न बल प्रदान गरिरहेको छ। प्रत्येक महिलाको आफ्नै विचार, इच्छा र सीमाहरू हुन्छन्, त्यही अनुरुप उनीहरूले बाँच्न पाउनु पर्छ र यो उनीहरूको नैसर्गिक स्वतन्त्रता हो।
स्वतन्त्र महिलाहरूले समाजमा एउटा नयाँ स्वरूप स्थापित गरेका छन्। उनीहरूको व्यवहार परम्परागत परिभाषामा फिट हुँदैन – उनीहरूको बोली, उनीहरूको हिँडाइ, उनीहरूको सोच, उनीहरूको भेषभूषा र उनीहरूको निर्णय लिने तरिका समाजको पुरानो संरचना भन्दा फरक भइसकेको छ। उनीहरूका आफ्ना विचारहरू स्पष्ट हुन्छन्, र यदि उनी कुनै कुरामा असहमत छिन् भने, खुलेर बोल्छिन्। विशेष गरी उनीहरूले आज्ञाकारी वा अरूको अधीनमा छौँ भन्ने कुरा सहजै त्याग गरिसकेका हुन्छन्। यो परिवर्तनले महिलाहरूलाई आत्मविश्वासी र सशक्त बनाएको छ।
शहरीया जीवनको दौडधुपः आत्मनिर्भरता र प्रतिस्पर्धा
शहरीया जीवन र गाउँले जीवनमा अझै पनि धेरै भिन्नता छ। शहरको एउटा परम्परा रहँदै आएको छ, शहरले महिलाहरूलाई छिट्टै आत्मनिर्भर बनाउँछ – प्रायः उनीहरूले पुरुषको तुलनामा आफूलाई त्यो स्थान (दर्जामा) राख्छन्, मानौँ उनीहरू सबै कुराले सम्पन्न छन्। विदेशबाट नेपाल फर्केर होस् या शहरमा कोठा लिएर बस्न होस् या शहरमा आफ्नै घर भएर होस्, उनीहरूको मनसाय यहाँसम्म परिवर्तन भइसकेको हुन्छ कि अब गाउँले जीवन भन्दा हामी शहरीया जीवनमा बढी घुलमिल भइसकेका छौँ। तब उनीहरूले शहरको परिवर्तनसँगै आफूलाई ढाल्न चाहन्छन् – शहरमा एकाअर्कामा धेरै प्रतिस्पर्धा हुन्छ, त्यो पहिरन होस् या खानपिन, रहनसहन होस् या हिँडडुल सम्पूर्ण कुरामा एकाअर्कामा कमी रहनु हुँदैन। त्यसका लागि आर्थिक आयस्रोतको महत्वपूर्ण भूमिका हुन्छ।
महँगो बजारसँगै शहरको बसाइ यतिसम्म प्रतिस्पर्धात्मक हुन्छ कि बस्न सम्म घर भएकाहरूले पुनः गाउँ झर्नुपर्ने अवस्था आउन थाल्छ। शहरमा महिलाहरू आत्मनिर्भर देखिए पनि उनीहरू प्रायः परनिर्भर बढी रहेका हुन्छन्। अधिकांश महिलाहरू नोकरी पेशामा आबद्ध भए पनि ज्यादातर महिलाहरू अहिले पनि सीमित ठाउँमा आफ्नो पति र पुख्र्यौली आम्दानीमा निर्भर रहन्छन्। यहाँ फरक सुख सुविधाको मात्रै हो। जबसम्म आम्दानी छ, जिन्दगी सरल र सुलभ चलिरहेको हुन्छ। जब आयस्रोत न्यून हुन्छ, तब उनीहरूको जिन्दगी चल्न धेरै कठिन हुन्छ। शहरको चमकधमकमा बाँच्नका लागि निरन्तर आर्थिक स्रोतको आवश्यकता पर्दछ, जसले कहिलेकाहीँ मानसिक दबाब पनि सिर्जना गर्दछ।
गाउँले जीवनको संघर्ष र आत्मसम्मान
तर, गाउँको जीवन अझै संघर्षपूर्ण छ, धेरै चुनौतीहरू छन्। बिहानदेखि लिएर बेलुका सुत्ने बेलासम्म घरायसी अनेकौँ कामहरू यसरी निभाउँछन् कि जसरी उनीहरूलाई न कुनै सञ्जालमा रिल बनाउन छ न सोसल मिडियामा रमाउन छ। कसले के गरिरहेको छ भन्ने मतलब हुँदैन किनभने उनीहरू आफ्नो घरायसी काममा यतिसम्म तल्लीन भएका हुन्छन् कि पलभरको फुर्सद हुँदैन। गाउँमा प्रतिस्पर्धा भन्ने शब्द हुँदैन बरु वर्तमान समयमा शहरका केही कुराहरू गाउँमा आफ्नो स्थान बनाइरहेका छन्। केही शहरीया महिलाहरू गाउँमा प्रवेश गर्छन्, उनीहरूले शहरको फेसन, हिँडाइ, बोलाइ, सोचाइ र आज्ञा आफ्ना गाउँले सहकर्मीहरूलाई देखाउँछन्। उनीहरूको मानसिकतामा यस्तो कुरा रुचाउँछन् कि गाउँमा पनि एउटा होडबाजी बन्छ र संगतको गुण देखा पर्छ।
तब उनीहरूलाई पनि पडोसीले लगाएको जस्तै डिजाइन र मूल्यको लुगाफाटो चाहिन्छ, उनीहरूको जस्तै गरगहना चाहिन्छ, उनीहरूको जस्तै श्रृङ्गारपट्टा चाहिन्छ। यो एउटा देखासिकी बनिसकेको हुन्छ। गाउँमा सुविधा कम भए पनि यहाँको जीवन आफ्नै गतिमा अघि बढ्छ।
-धर्मानन्द जोशी
