नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु प्रधानमन्त्री हुँदा नेपालमा गरिबी कम्तीमा ३ प्रतिशतले घटेको र १० वर्षको अवधिमा चरम गरिबी अन्त्य भएको दाबी गरेका छन्।
शनिबार इलाममा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले भने, ‘नेकपा एमाले सरकारमा गएका बेला रोजगारी यसरी सिर्जना गर्यौं कि जसले गर्दा नेपालमा तीन वर्ष म प्रधानमन्त्री हुँदा गरिबी कमसे कम ३ प्रतिशतले घटेको थियो। हाम्रो बहुमत थिएन, नभएपनि अरूसँग मिलेर हामीले लिड गरेर काम गर्दा नेपालमा ३ प्रतिशतले गरिबी घट्यो। १० वर्ष हामीले काम गर्दा चरम गरिबीलाई हामी अन्त्य गर्यौं।’
उनले थपे, ‘गरिबी छ नेपालमा । तर अरू देशजस्तो चरम गरिबी छैन। हाम्रै छिमेकतिर हेर्नुस् न, चरम गरिबी छ त्यहाँ?’
ओलीले एमाले नेतृत्वको सरकारले विकास निर्माणका थुप्रै काम गरेको दाबीसमेत गरे। ‘राजमार्ग कति बने? बाटाघाटा कति बने। रिभर कोरिडोर कति बने। एयरपोर्ट पनि राति चल्ने भए,’ उनले भने। शिक्षा र अन्य क्षेत्रमा पनि धेरै काम भएको उल्लेख गर्दै उनले ‘नेकपा एमालेले केही गरेन भन्ने प्रचार गरे, त्यसमा सत्यता छैन’ भने।
एमाले नेता–कार्यकर्ताले गरेका कामको पर्याप्त प्रचार जनताका बीचमा पुर्याउन नसकेको उनले बताए ।
