काठमाडौं मेडिकल कलेज (केएमसी) ले नेपालमै पहिलोपटक ‘अर्बिटल एथेरेक्टोमी’ प्रविधि प्रयोग गरी जटिल नसाको बिनाचिरफार सफल उपचार गरेको छ। खुट्टाको नसा पूर्ण अवरुद्ध भएर अंग गुमाउनुपर्ने जोखिममा रहेका बिरामीको यस प्रविधिबाट उपचार भएको कलेजले जनाएको छ।
पोखराकी ७१ वर्षीया हीरामाया राम्जाली लामो समयदेखि खुट्टाको नसा कडा भएर रक्तसञ्चार अवरुद्ध भएपछि केएमसी पुगेकी थिइन्। सीटीभीएस विभागका डा. कृष्ण बस्यालको नेतृत्वमा रहेको टोलीले पहिलो चरणमा खुला शल्यक्रिया गरे पनि तल्लो भागको कडा अवरोध हटाउन अर्बिटल इन्डोभास्कुलर एथेरेक्टोमी प्रविधि प्रयोग गरेको थियो।
डा. बस्यालका अनुसार यो प्रविधि नेपालमै पहिलोपटक प्रयोग भएको हो। यसले नसामा रहेको अवरोध हटाई रक्तसञ्चार सहज बनाउँछ र खुट्टा गुमाउनुपर्ने अवस्थाबाट जोगाउँछ। हीरामायासँगै जनकपुरका ४७ वर्षीय कल्याणलाल कर्णको पनि यही प्रविधिबाट सफल उपचार भएको छ।
हीरामायाका नाति विशाल राम्जालीले खुट्टा काट्नुपर्ने अवस्थाबाट बचाइदिएकोमा अस्पताललाई धन्यवाद दिएका छन्। अब बिरामी आफैं हिँड्न सक्ने अवस्थामा पुगेका छन्।
