निवर्तमान खानेपानी मन्त्री बिना मगरले प्रधानमन्त्रीले पद लोलुपताकै कारण संसद विघटन गराएको बताएकी छन्।
नेपाल कम्युनिष्ट पार्टी बेलौरी नगर कमिटीद्वारा आयोजित नगर कमिटी भेलालाई सम्बोधन गर्दै निवर्तमान खानेपानी मन्त्री मगरले प्रधानमन्त्रीले जनताका लागि भन्दा पनि पदकै लागि संसद विघटन गराएको बताइन्।
‘प्रधानमन्त्रीलाई देश र जनताको चिन्ता छैन। मुलुकको विकासको बारेमा उहाँलाई कत्ति पनि चिन्ता रहेनछ। मात्र उहाँलाई पदको चिन्ता रहेछ।’
भेलालाई सम्बोधन गर्दै उनले भनिन्, ‘जनतामाथि कुठाराघात गर्दै प्रधानमन्त्रीले असंवैधानिक तवरले संसद विघटन गराउनुभयो। यस्तो तानाशाही प्रवृत्तिलाई जनताले चाँडै परास्त गर्नेछन्
प्रधानमन्त्री र उहाँका आसेपासेहरूको भविष्य अब धेरै लामो समय छैन।’
उनले थप भनिन्, ‘मैले सुन्ने गरेको छु प्रधानमन्त्रीका नजिकका मान्छेहरूले संघीयता खारेज गर्नुपर्यो भनेर वकालत गरिरहेका छन्।
जनताको त्याग र बलिदानबाट प्राप्त भएको उपलब्धिहरूलाई प्रधानमन्त्रीका मान्छेहरूले कुल्चने दुस्साहस गर्दैछन्।’
नेकपाको केन्द्रीय सदस्य समेत रहेकी मगरले यस्तालाई जनताले चाँडै पराजित गर्ने बताइन्।
मगरले भनिन्, ‘प्रधानमन्त्रीले जनतालाई भ्रम छर्दै हिँडिरहनु भएको छ। उहाँ देशको प्रधानमन्त्री नभई एउटा कमेडियन पात्र मात्र हो कि भन्ने भान दिलाइरहनुभएको छ। उहाँका गतिविधि जनताले हेरिरहेका छन्। अब धेरै दिन उहाँका भ्रम टिक्ने छैनन्।’
