काठमाडौं विश्व विजेता फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत वेल्समाथि सहज जित दर्ता गरेको छ । लामो समयपछि राष्ट्रिय टोलीमा पूनरागमन गरेका करिम बेन्जेमाले पेनाल्टी चुकाएपनि फ्रान्सले १० खेलाडीमा समेटिएको वेल्सलाई ३–० ले पराजित गरेको हो ।
फ्रान्सको जितमा किलियन एम्बाप्पे, एन्टोइन ग्रिजम्यान र ओस्मान डेम्बेलेले समान एक–एक गोल गरे । वेल्स खेलको २४औँ मिनेटमा १० खेलाडीमा समेटिएको थियो । वेल्सका नेको विलियम्सले रातो कार्ड पाएका थिए ।
बेन्जेमा २७औँ मिनेटमा पाएको पेनाल्टीमा असफल भएका थिए । तर ३४औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै पहिलो हाफभरि फ्रान्सलाई १–० गोलको अग्रता दिलाए ।
४७ औँ मिनेटमा ग्रिज्म्यान तथा ७९औँ मिनेटमा डेम्बेलेले गोल गर्दै फ्रान्सलाई ३–० गोलको जित दिलाए । दुवै टोली युरो कप २०२० को तयारीस्वरूप मैत्रीपूर्ण खेल खेलेका हुन् । युरोकप ११ जुनदेखि ११ जुलाईसम्म युरोपका ११ शहरमा आयोजना हुँदै छ ।
