प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग राखेका ६ वटा मन्त्रालयमा थप मन्त्रीहरुको नियुक्ति गर्ने भएका छन् । आइतबार बेलुकासम्म थप मन्त्री नियुक्तिका लागि अहिले बालुवाटारमा छलफल जारी छ ।
शुक्रबार जनता समाजवादी पार्टीका १० जनालाई मन्त्री बनाइएको र एमालेका केही मन्त्रीहरुलाई हटाइएका कारण ७ वटा मन्त्रालयहरु खाली छन् । खाली रहेका ७ मन्त्रालयहरुमा रक्षा, गृह, उद्योग, कृषि, सामान्य प्रशासन, वन र सञ्चार छन् ।
खाली रहेका मन्त्रालयमा पूर्वमाओवादीबाट एमालेमा प्रवेश गरेकाहरुलाई समेत समेट्ने प्रधानमन्त्री ओलीको तयारी छ ।
कोको बन्दैछन् मन्त्री ?
एमाले उच्च स्रोतका अनुसार खाली रहेका मन्त्रालयमध्ये रक्षा प्रधानमन्त्री ओलीले आफैंसँग राख्ने सम्भावना छ । बाँकी मन्त्रीहरु आजै नियुक्त गरेर आजै सपथ ग्रहण गर्ने तयारी छ ।
प्रधानमन्त्री ओलीले गृह मन्त्रालयमा चुनाव गराउन सक्ने भरपर्दो पात्रको खोजी गरेका छन्
यसक्रममा महेश बस्नेतको नाम चर्चामा आए पनि प्रहरी संगठनले उनलाई नरुचाएपछि खगराज अधिकारीलाई गृहमन्त्री बनाउने सम्भावना बढेको बालुवाटार स्रोतले रातोपाटीलाई बतायो ।
तथापि बस्नेतले भने पार्टीलाई सफल बनाउनका लागि आफूले. गृहमन्त्री पाउनुपर्ने प्रधानमन्त्री ओलीसँग माग गरेका छन् । गृहमा कर्ण थापाले पनि दाबी गरेको बुझिएको छ । एमालेका पूर्वसांसद नारदमुनि राना मन्त्री बन्ने पक्का भएको छ । राना कैलालीबाट काँग्रेस नेतृ आरजू राणालाई चुनाव हराएर सांसद बनेका व्यक्ति हुन् ।
त्यसैगरी पार्वती बिसुंखे र राजबहादुर शाहीको नाम पनि मन्त्रीका रुपमा चर्चामा छ । दैलेख घर भएकी पार्वती बैशाख २७ गते प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने बेलामा उपस्थिति थिइन् । माधव नेपाल समूह छाडेर उनी ओली समूहमा लागेकी थिइन् ।
पूर्वबाट विशाल भट्टराई र राजेन्द्र राई (धनकुटा) को नाम चर्चामा छ । गण्डकीबाट विद्या भट्टराईको नाम पनि चर्चामा छ । तर, खगराजलाई गृहमन्त्री बनाउने अवस्थामा एउटै प्रदेशका दुई जनालाई के गर्ने भन्नेबारे छलफल भइरहेको स्रोतले बतायो ।
पूर्वमाओवादीलाई पनि समेट्ने तयारी
राष्ट्रियसभामा पराजित पूर्वमाओवादीका चन्द्रबहादुर खड्कालाई मन्त्री बनाएर पूर्वमाओवादीको चित्त बुझाउने तयारीमा प्रधानमन्त्री ओली लागेका छन् ।
त्यस्तै कर्णाली प्रदेश सरकारको राज्यमन्त्रीबाट निकालिएका अछामका प्रकाश रावललाई पनि मन्त्री बनाउने तयारी छ । त्यस्तै माओवादीबाट निकालिएकी प्रदेश २ कि प्रदेशसभा सदस्य ज्वालाकुमारी साहको नाम पनि मन्त्रीका रुपमा चर्चामा छ ।
त्यसो त पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले पनि गृहमन्त्रीमा दोहोरिने चाहना व्यक्त गरेका थिए । तर, बादलसहितका ७ मन्त्रीलाई सर्वोच्च अदालतले व्यक्ति नै तोकेर मन्त्रि बन्न नमिल्ने भनेकाले बादललाई गृहमन्त्री बनाउन नसकिने बालुवाटारले जवाफ दिएको बुझिएको छ ।
प्रधानमन्त्रीले रक्षा मन्त्रालय आफैंसँग राखेर मन्त्रिपरिषद विस्तार गर्ने हो भने ७ जना मन्त्रीहरु थप्दा मन्त्रिपरिषदको कुल संख्या २४ पुग्छ । यो अवस्थामा थप एकजना राज्यमन्त्री बनाउन मिल्छ । संविधानले २५ जनाभन्दा बढीको मन्त्रिपरिषद बनाउन दिँदैन ।
