उमेर साढे आठ दशक। शुक्रबार देशभर स्थानीय तह निर्वाचनको मतदान भइरहेका बेला छोराबुहारीलाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाडि टोलाइरहेका थिए काठमाडौं वनस्थलिका मानसिंह विष्ट।
यो उमेरका विष्टलाई बुढेसकालमा छोरालाई विदेश पठाउन फिटिक्कै मन छैन तर उनले रोक्न पनि सक्दैनन्।
निर्वाचनको दिन निजी तथा सार्वजनिक सवारी साधन नचलेकाले अनेक प्रयास गरेर विमानस्थलसम्म आइपुगेको बताउने विष्टका आँखा एकाएक रसाए। छोरा किसन र बुहारी कमलालाई विदेश पठाउन आएको उनले बताए।
‘विमानस्थल आउने हतारोले निर्वाचनमा भाग लिन पाइएन। आफ्नो प्रतिनिधि चयन गर्ने अवसर गुमाउनु पर्यो,’किसनले सुनाए।
आफ्नो टोलका सबै छिमेकी निर्वाचनमा सक्रिय सहभागी भइरहेको मानसिंहलाई थाहा छ। मत दिने मन त उनलाई पनि छ तर दक्षिण कोरिया उड्ने छोरालाई बिदाई नगरी उनी घरमै बस्न सकेनन्।
‘छोरा घर फर्केर आउँदा खुसी हुने मन विदेश उड्न लाग्दा भने साह्रै दुख्दोरहेछ’ मानसिंहले गहभरी आँसु पार्दै भने, ‘यो बाध्यतालाई देश बनाउँछु भन्नेहरूले बुझिदिए कत्ति राम्रो हुन्थ्यो होला।’
स्थानीय निर्वाचनका कारण सवारी साधन नचलेकाले धेरै टाढा-टाढादेखि अनेकन दुःख गरेर विमानस्थल आइपुगेको बताउनेहरू धेरै थिए। तर, अन्य दिन भन्दा विमानस्थलमा आज चाप अलिक कम थियो।
हरेक दिन सपना बोकेर उड्नेहरू कोही सकुशल फर्किएका छन्
भने कोही बाकसमा बन्द भएर।
रोजगारीको खोजीमा भौंतारिएकाहरू मलिन मुद्राका साथ प्रस्थान कक्ष अगाडि उभिइरहेको दृश्यले धेरैको मन बिथोलिन्छ।
औपचारिक तथ्यांका आधारमा हरेक दिनजसो दुई हजार नेपाली रोजगारीको खोजीमा विदेशिरहेका छन्।
श्रम र पसिना बिक्री गर्न विदेशिएका नेपालीले नै पठाएका विप्रेषणले मुलुक चलेको छ।
विप्रेषण कम हुँदा देशको अर्थतन्त्र धर्मराउन लागेको तथ्य पनि हाम्रासामु छ। तर, देशभित्र महत्वपूर्ण चाड चलिरहेको बेला विदेशिनुपर्ने बाध्यता आफैंमा हृदयविदारक दृश्यभन्दा फरक थिएन। धेरै मानसिंहले बुढेसकालका सहारालाई विदेश पठाएर प्रतिक्षाका दिनहरू भित्तेपात्रोमा गनेर बसेका छन्।
निर्वाचनमा आफ्नै परिवारको सदस्य उम्मेदवार भए पनि आज राति १० बजे कतार उड्न लागेका धनुषा मिथिला नगरपालिकाका तेजनारायण यादवको मुहारमा खुसी थिएन।
उनको काका नै प्रमुखको उम्मेदवार हुन्।
‘देशभित्र रोजगारी छैन, खानु पर्यो परिवार पाल्नु पर्यो, निर्वाचन भनेर बस्ने अवस्था पनि रहेन’ यादवले भने, ‘सामान्य झोला भिरेका यादवले भने, ‘म र मजस्ताको दुःख सम्बोधन गर्ने गरी यस पटकको निर्वाचनले नेतृत्व छानिदिए अर्को पटक म पनि विदेश जान्न थिएँ।’
धनुषादेखि बिरामी बोक्ने एम्बुलेन्समा कोचिएर संघीय राजधानी उत्रनु भएका यादवसँगको कुराकानीकै क्रममा मलिन सुनिए। उनको गला अवरूद्ध भइरहेको थियो।
‘परिवार छाडेर विदेश जान त कहाँ मन छ र ? तर बाध्यता छ हजुर, बाध्यता।’
पाँच महिनाको छुट्टी लिएर आएका यादव कतारमा टाइम किपरको काम गर्छन्।
उनको अपेक्षा छ, विदेश जानुपर्ने बाध्यताको अन्त्य हुने गरी निर्वाचित हुनेले काम गरिदिए आफूलाई असाध्यै खुसी लाग्ने बताए।
कतार एयरबेजल यादवलाई राति १० बजे मात्रै बोकेर उड्छ। खाना न पानीका साथ विमानस्थलको प्रस्थान कक्ष अगाडिको घडीमा कहिले आँखा पुग्छ त कहिले आफूजस्तै विदेश जान आएकाको भिडमा।
एउटै समूहमा भेटिएका मोरङ उर्लाबारी अशोक राउत, झापा हल्दीबारीका गंगा कटुवाल र उदयपुरका नगेन्द्र मगर।
बिहीबारलाई दुबईको जहाज नआएपछि होटलमा बस्नु परेको यर्थाथ सुनाउँदै राउतले भने, ‘निर्वाचन भनेर बसेर पनि भएन। यहाँ रोजगारी छैन, कमाई खाने बाटो छैन। यो बाध्यता छ हामीलाई।’
बहराइनमा विगत पाँच वर्षदेखि चालकको रूपमा कार्यरत राउतले भने,‘निर्वाचनले हामीजस्ता परदेशीलाई स्वदेशमा नै बस्ने वातावरण बनाओस् भन्ने अपेक्षा छ।’
तीनै जनाको ‘लगेज’ एउटै ट्रलीमा घिसारिरहेका नगेन्द्र मगरलाई राजनीतिक नेतृत्वले देश विकासभन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थमा लागेको कुरा पटक्कै मन परेको रहेनछ।
‘निर्वाचनको दिन विदेश उड्न त मन थिएन नि। तर, राजनीतिक नेतृत्वले कहिल्यै हामीहरू जस्ताको चाहना र आवश्यकताको सम्बोधन गर्न सकेन।’
‘देशभित्रै रोजगारी होओस्, घरमै बसेर काम गरी खान पाइयोस् भन्ने मेरो पनि चाहना छ। तर, कहिल्यै त्यो अवसर आएन’ मगरले भने।
झापा हल्दीबारीका कटुवाललाई झापामा आज भइरहेको निर्वाचनको माहोल झल्झली आँखामा आइरहेको छ।
ट्रली धकेल्दै उनले भने, ‘निर्वाचन भनेर भएन। हाम्रो दुःख बुझिदिने कुनै नेता भएनन्। प्रभाव र पहुँच नहुनेले देशभित्र रोजगारीको अवसर पाउन मुस्किल भएको उनको गुनासो छ।
सरकारले सबै नेपालीलाई देशभित्रै राख्न सकेको अवस्थामा विकासको शिखरमा पुग्न कुनै आइतबार कुर्नु नपर्ने उनको भनाइ छ।
विमानस्थलमा कोही आफ्ना छोरा बिदाई गर्न आएका आमाहरू भेटिए।
कोही श्रीमान बिदाई गर्न लालाबाला बोकर आएकाहरू पनि भेटिए।
देशमा लोकतन्त्रको अभ्यास भइरहेको बेला विमानस्थलमा भेटिएका कोही कसैको मनमा पनि खुसी देखिँदैनथ्यो।
निराश, हतास अनि मलिन अनुहारमा भेटिएका अधिकांशले देश बनोस्, देशभित्रै रोजगारी पाइयोस् भन्ने अपेक्षा भने गरेका थिए। दुखित मन लिएर उड्नेहरू कति खुसी भएर फर्केलान् कति अझै दुःख भोगेर फर्केलान् त्यो भने अहिल्यै भन्न सकिने अवस्था छैन। तर, यसरी देशमा चुनाव भइरहेकै बेला विदेशिने रहर भने कसलाई पो होला र?
