सोरु गाउँपालिका–४ फोतुकी सुवा शाही एक सातादेखि ज्वरो र रुघाखोकीको समस्याले घरमै थलिएकी छन् । उनका छिमेकी मानबहादुर शाही पनि ज्वरोले थलिएको झन्डै दुई साता पुग्यो ।
साउन दोस्रो सातादेखि फोतु गाउँका करिब २५ घरधुरीमा महिला, पुरुष र बालबालिका ज्वरोले थलिएका छन् । ‘बिरामी नभएको कुनै घर छैन,’ स्थानीय अक्क बुढाले भने, ‘के रोग फैलियो ?’ फोतु गाउँदेखि एक घण्टा टाढाको लिब्रु स्वास्थ्य चौकीमा पनि औषधि छैन । जटिल अवस्था भएका बिरामीलाई एक दिन हिँडेर स्ट्रेचरमा बोकेर सोरुकोटका निजी मेडिकलमा लैजानुपरेको स्थानीय बिर्ख शाहीले बताए । ‘नजिकै औषधि पाइँदैन,’ उनले टेलिफोनमा भने, ‘गाउँमा परीक्षण गर्न स्वास्थ्यकर्मी पनि आएका छैनन् ।’
सोरुको तलिलिब्रु, माथिलिब्रु, भादगाउँ, रावलबाडा, नेर, ताजालगायत गाउँमा पनि ज्वरो ज्वरो फैलिएको छ । ज्वरो फैलिएको क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मी खटाउन तयारी थालिएको जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमले बताए । बर्खा सकिने र हिउँद मौसम सुरु हुने समयमा भाइरल ज्वरो बर्सेनि गाउँमा देखा पर्ने उनको भनाइ छ । उनका अनुसार जिल्ला अस्पतालमा पनि दैनिक ५० जनाभन्दा बढी ज्वरोका बिरामी आउँछन् ।
