१५ औं राष्ट्रिय धान दिवस / दहि चिउरा खाने दिनको अवसरमा सम्पूर्ण कृषक दाजु भाई तथा दिदी बहिनीहरू एवं Local Guides मित्रहरूमा शुभकामना !!
‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन अर्थात असार १५ को दिनलाई प्रत्येक वर्ष नेपालमा राष्ट्रिय धान दिवस / दहि चिउरा खाने दिनको रुपमा मनाईन्छ । रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि असार १५ गतेलाई मनाउने परम्परा छ।
नेपालमा धान दिवसको सुरुवात :
विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी विसं २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो र यो दिवसलाई राष्ट्रिय रुपमा मनाउने राष्ट्रसङ्घका सदस्य राष्ट्रमध्ये नेपाल एक मात्र देश हो ।
नेपालको कृषि अवस्था बारे जानकारी:
धान नेपालको प्रमुख खाद्यान्न बाली हो । नेपालको कुल गार्हस्थ उत्पादनमा २९.४ प्रतिशत योगदान कृषि क्षेत्रको छ र कृषिमा ६०.४ प्रतिशत जनसङ्ख्या आश्रित छन् । कृषि गार्हस्थ उत्पादनमा धानको योगदान २० प्रतिशत रहेको कृषि विकास मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा १५ लाख ५२ हजार हेक्टरमा धान खेती भइरहेको छ । खेती गरिने ५०.२ प्रतिशत जमिनमा धान खेती हुने गरेको छ । तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धानबाली लगाइन्छ ।



