पाकिस्तानको दक्षिणपश्चिम प्रान्त बलोचिस्तानमा भएका आत्मघाती आक्रमणमा कम्तीमा ९ जना सुरक्षाकर्मीको मृ त्यु भएको छ । साथै अरु केही घाइते भएका छन् । स्थानीय प्रहरी अधिकारीहरूका अनुसार बलोचिस्तानस्थित कछी जिल्लामा बसको यात्रामा रहेका सुरक्षाकर्मीहरूमाथि आक्रमण भएको हो ।
जुन स्थान प्रान्तीय राजधानी क्वेट्टादेखि १ सय ६० किलोमिटर दक्षिणपूर्वी क्षेत्रमा पर्छ । प्रहरीका अनुसार सोमबार मोटरमा आएका व्यक्तिले ट्रकको पछाडिबाट आत्मघाती हमला गरेका थिए ।
आक्रमणमा घाइते भएका प्रहरी तथा सुरक्षाकर्मीहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ । स्थानीय अस्पतालमा कम्तीमा सात जना प्रहरीको उपचार गरिएको छ । पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार आक्रमणमा १३ जना घाइते भएका छन् । आक्रमणको जिम्मेवारी भने अहिलेसम्म कुनै समूहले पनि लिएको छैन ।
पाकिस्तानको बलोचिस्तानमा प्रहरी तथा अर्धसैन्य फोर्सलाई लक्षित गर्दै भएको यो पहिलो आक्रमण भने हैन । बलोचिस्तान क्षेत्रमा आदिवासी बलोच समूहहरूले सरकारले यहाँको ग्यास र खनिज स्रोतको दोहन गरेको भन्दै त्यसविरद्ध दशकौंदेखि सशस्त्र विद्रोह गर्दै आएका छन् ।
