जनक साउँद । काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब प्रत्येक बर्ष सेतो कोट दिवस मनाउने भएको छ । नागरिकहरुको उपचारमा अनवरत अटिने स्वास्थ्यकर्मीको सम्मान स्वरुप मन्त्रालयले प्रत्येक बर्ष सेतो कोट दिवस मनाउने भएको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले सोमबार धुलिखेल अस्पतालमा आयोजित एक बोल्दै उक्त कुराको जानकारी गराएका हुन् । उनले अहिले क्यालेण्डर बनाउने काम भईरहेको र अबको ३ महिनाभित्रै सेतो कोट दिवस मनाउने बताए ।
यस्तै मन्त्री बस्नेतले अब नेताहरुले बिदेशमा गएर गराएको उपचार खर्च सरकारले नबेहोर्ने बताउनु भएको छ । सामान्य उपचार का लागी पनि नेताहरु बिदेश जाने प्रवृत्तिको अन्त्य गर्न आफुले पहल गरिरहेको मन्त्री बस्नेतले बताए ।अब कुनै पनि भिआईपी, भिभिआईपीहरुले बिदेशमा गएर उपचार गरेमा उपचार खर्च आफैले ब्यहोर्नु पर्ने मन्त्री बस्नेतको भनाई छ ।नेपाली चिकित्सकको क्षमताको अवमूल्यन गर्दै उपचारका लागि बिदेश नै जाने चलन हाबी भएको बेला यसको अन्त्य गर्नका निम्ति आफुले प्राथमिकताका साथ काम गरिरहेको उनले बताए ।
मन्त्री बस्नेतले उपचारबाट बन्चित भएर अब कुनै नागरिकले ज्यान गुमाउन नपर्ने पनि बताए । स्वास्थ्यलाई संविधानमै मौलिक हकका रुपमा उल्लेख गरिए पनि अहिले गरिब, विपन्न नागरिकहरुले आर्थिक अभावका कारण उपचारबाट बन्चित हुनु परेकोमा मन्त्री बस्नेतले दुःख समेत ब्यक्त गरे ।
