मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि आज आइतबार सेयर बजारमा तेस्रोपटक सर्किट ब्रेक लागेको छ। तेस्रोपटक सर्किट ब्रेक लाग्दा सेयर बजार परिसूचक नेप्से ६ प्रतिशतले बढेपछि आजलाई कारोबार बन्द भएको छ।
कारोबार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । ११ : २५ मा दोस्रो पटक खुलेको बजारमा २ मिनेटमै ५ प्रतिशत बढेपछि सर्किट ब्रेक लाग्यो र ४० मिनेटका लागि कारोबार स्थगित भयो ।
पुनः १२ : ०७ बजे सुरु भएको कारोबारमा २ मिनेटमै अघिल्लो दिनको तुलनामा ६ प्रतिशत बढेपछि तेस्रो सर्किट ब्रेक लागेको हो । योसँगै आइतबारका लागि सेयर कारोबार बन्द भएको छ । आइतबार सेयर बजारको परिसूचक नेप्से १११ अंक बढेको छ । नेप्से १९६३ अंकमा कायम भएको छ । आइतबार ९ मिनेटमा ४८ करोड २४ लाख रुपैयाँको कारोबार भयो ।
आज बिमा, होटेल तथा पर्यटन, विकास बैंक, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, हाइड्रोपावर, व्यापार, फाइनान्स समूहको सेयर उच्च अंकले बढेको छ।
आज रिलायन्स फाइनान्स, जोशी हाइड्रोपावर, राप्ती हाइड्रो, शुभम् पावर र कालिञ्चोक दर्शनको सेयर १० प्रतिशतले बढेको छ।
