काठमाडौं । नेपाली राजनीतिको पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेस, यतिबेला गम्भीर र अभूतपूर्व संकटको संघारमा उभिएको छ। यसै अनिश्चितता र गुटगत द्वन्द्वको भुमरीबीच लामो समयदेखि उपचारको क्रममा विदेशमा रहेका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा बिहीबार स्वदेश फर्किएका छन्। बिहीबार दिउँसो थाई एअरको विमानमार्फत काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका देउवाको यो पुनरागमन नेताको सामान्य स्वदेश फिर्ती मात्र थिएन्, बरु यसले नेपाली कांग्रेसको आन्तरिक जीवन र सिंगो राष्ट्रिय राजनीतिमै नयाँ तरंग पैदा गरेको छ।
गत वर्ष भदौ २३ र २४ मा भएको ‘जेनजी’ आन्दोलनपछि गगन थापाको नेतृत्वमा भएको विद्रोहले कांग्रेसको संस्थापन पक्षलाई नराम्ररी झड्का दिएको थियो। त्यसै विद्रोहको बलमा विशेष महाधिवेशनमार्फत देउवालाई नेतृत्वबाट विस्थापित गरियो। स्थिति यतिसम्म भयानक बन्यो कि आफ्नै निवासमा देउवा दम्पतीमाथि सांघातिक र मरणासन्न हुने गरी आक्रमण समेत भयो। यस घटनाले लोकतान्त्रिक पार्टीभित्र हुर्किरहेको असहिष्णुता, राजनीतिक प्रतिशोध र अराजकताको डरलाग्दो चित्र प्रस्तुत गरेको थियो। एकातिर लामो समय पार्टीसत्ता र राज्यसत्तामा रजगज गरेका देउवाको असीमित शक्तिमोह, कार्यशैली र अनेकन विवादहरूले पार्टीलाई रक्षात्मक अवस्थामा पु¥याएको सत्य हो भने, अर्कोतिर पार्टीलाई रूपान्तरण गर्ने आकर्षक नारा दिएर नेतृत्वमा पुगेका गगन थापा र उनको समूहले विधि, प्रक्रिया र न्यूनतम मानवीय संवेदनालाई समेत कुल्चेर अघि बढेको प्रष्ट देखियो ।
यी तमाम आरोह–अवरोह, कानुनी झमेला र राजनीतिक निर्वासनजस्तो अवस्थाबाट गुज्रिए पनि देउवा झण्डै ५ महिनाको विदेश वसाईपछि नेपाल फर्किए । विमानस्थलको दृश्य धेरैका लागि अप्रत्याशित र विस्मयकारी थियो। एकातिर राज्यले उनलाई पक्राउ गर्न सक्ने भारी अनुमान थियो भने अर्कोतिर उनलाई स्वागत गर्न नेपाली कांग्रेसको हालको संस्थापन इतर समूहका शीर्ष नेताहरू शशांक कोइराला, प्रकाशमान सिंह, मोहन बस्नेतसहित हजारौं कार्यकर्ताहरूको बाक्लो र उल्लासपूर्ण उपस्थिति थियो।
यसले देउवाको राजनीतिक अवसानको घोषणा गरिसकेका गगन थापा समूहका लागि चुनौतीको पहाड अझै ढलेको छैन र कांग्रेसभित्र देउवाको जरा सोचेभन्दा निकै गहिरो छ भन्ने सम्झाएको छ। लोकतान्त्रिक अभ्यासलाई तिलाञ्जली दिँदै गुटगत स्वार्थ र बदलाको भावनाले ग्रस्त कांग्रेसको वर्तमान राजनीतिमा देउवाको यो उपस्थिति आफैंमा बहुआयामिक छ। यसले पार्टीभित्रको शक्ति सन्तुलन, सम्भावित फुट, आगामी महाधिवेशनको अंकगणित र अदालतमा विचाराधीन आधिकारिकताको लडाइँलाई नयाँ दिशा दिने निश्चित छ। अहिले देउवा नेपाल आएसँगै, यसले मुख्यतः पाँच वटा सन्देश दिएको छ ।
पहिलो, देउवाको सुरक्षित नेपाल फिर्तीः
देउवा काठमाडौंमा अवतरण गर्नुअघि राजनीतिक र प्रशासनिक वृत्तमा एउटा बलियो आँकलन थियो– उनलाई विमानस्थलमै प्रहरीले पक्राउ गर्नेछ । विशेषगरी उनीमाथि लागेको सम्पत्ति शुद्धीकरणको गम्भीर मुद्दा र त्यसैको अनुसन्धानका लागि प्रहरीले इन्टरपोलमार्फत ‘रेड नोटिस’ जारी गरेरै भए पनि नेपाल झिकाउने सम्मको विगतको तयारीका बिच भएको उनको आगमन जोखिमपूर्ण मानिएको थियो । तर, अनुमानहरूलाई गलत साबित गर्दै देउवालाई पक्राउ गरिएन ।
यसले देउवाको सुरक्षित नेपाल फिर्तीको सन्देश त दियो नै, तर साथसाथै यसले देउवाको फिर्तीमा सत्तारुढ दलसँगै साँटगाँटको झल्को पनि दिएको छ। देउवालाई पक्राउ नगरिनुले उनी नेपाल आउनुअघि नै सत्ता साझेदार दलसँग कुनै न कुनै प्रकारको अघोषित सम्झौता वा सहकार्यको तानाबाना बुनिएको हुनसक्ने शंकालाई बल पु¥याएको छ । यदि उनीमाथि अनुसन्धान नै गर्नुपर्ने थियो भने राज्यसंयन्त्र किन मौन बस्यो ? यसले देउवा सधैं शक्तिको आडमा कानुनी छिद्र खोज्न खप्पिस छन् भन्ने आलोचकहरूको भनाइलाई पुष्टि गर्छ । अर्कोतर्फ, राज्यसत्ताले आफ्ना विरोधीलाई तर्साउन मात्र मुद्दाको हौवा पिट्ने तर भित्रभित्रै राजनीतिक लेनदेन गर्ने नियतमा शंकाको सुविधा दिएको छ।
दोस्रो, चुनदेविमा फक्रेको देउवाको आक्रोसः
विमानस्थलबाट देउवा सिधै चुनदेवीमा स्थापना गरेको सम्पर्क कार्यालयमा पुगे । त्यहाँ उनले दिएको भाषणमा आक्रोश, कुण्ठा र एक प्रकारको अहंकारको सम्मिश्रण प्रष्ट देखिन्थ्यो । आक्रोशित हुँदै उनले भने, “मलाई तत्कालीन राजा ज्ञानेन्द्रले त सिध्याउन सकेनन् भने अरु कसैले मलाई सखाप पार्छु भन्नु दिवास्वप्न मात्र हो ।“ उनको यो भनाइको सीधा निशाना वर्तमान सभापति गगन थापा र जेनजी आन्दोलनतिर थियो । गगन थापाले षड्यन्त्रपूर्वक पार्टी ‘हाइज्याक’ गरेको र आफूहरूलाई अपमानित गर्दै नेतृत्वबाट गलहत्याएको भाष्य देउवाले स्थापित गर्न खोजेका छन् ।
त्यति मात्र होइन, उनले राजनीतिक प्रणालीमाथि नै व्यंग्य गर्दै भने, ‘संविधानसभाले ल्याएको हो, गणतन्त्र । मैले चाहँदा आएको पनि होइन, मैले चाहेर जाँदैन पनि ।’
यद्यपि, उनले ‘नेपाली जनता सबैभन्दा ठूलो कुरा हो, नेपाली जनता नेपालको मालिक हो, यो मालिकले जे भन्यो त्यही हुन्छ’ भन्दै जनमतको सम्मान गर्ने कुरा पनि गरे । सर्वोच्च अदालत पञ्चायतकालदेखि नै निष्पक्ष न्याय दिएको अदालत भएको भन्दै त्यसमा आफ्नो पूर्ण विश्वास रहेको उनको भनाइले उनी अब सडकभन्दा पनि अदालतबाटै पार्टीको आधिकारिकता फर्काउन विश्वस्त देखिन्छन् । उनको यो आक्रोशले गगन थापा र उनीबीचको वैमनस्यता छिट्टै अन्त्य नहुने देखिएको छ।
तेस्रो, गगन थापाले गरेको स्वागत :
देउवाको आगमनसँगै देखिएको अर्को रोचक तर विरोधाभासपूर्ण पक्ष हो– नेपाली कांग्रेसका सभापति गगन थापाको स्वागत । बिहीबार सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेको थियो । मध्यान्ह देउवा नेपाल आइपुगेको खबर पाएपछि बैठककै बीचमा सभापति थापाले देउवालाई सम्झिँदै भने, “पूर्वसभापतिज्यूलाई नेपालमा स्वागत छ ।“
थापाको यो भनाइ राजनीतिमा सम्भवना र अवसरवादिताको उत्कृष्ट नमुना हो । नेतृत्व हत्याउने बेलामा देउवाप्रति चरम आक्रामक बनेका, जेनजी आन्दोलनको बलमा देउवालाई सम्पूर्ण रूपमा विस्थापित गर्न खोजेका थापाको यो ‘सफ्ट टोन’ अर्थपूर्ण छ । यहाँ गगन थापाको नैतिकतामाथि गम्भीर प्रश्न उठ्छ । आफ्नै निवासमा मरणासन्न हुनेगरी कुटिएका देउवा दम्पतीको स्वास्थ्य लाभको कामनासम्म गर्न नसक्ने कठोरता देखाएका थापा आज एकाएक किन लचिलो भए ?
यसको एउटै कारण हो– पार्टी फुट्ने डर र आफ्नो कुर्सी गुम्ने त्रास । गगनले बुझेका छन् कि देउवा समूहलाई पूर्ण रूपमा पाखा लगाएर पार्टी चलाउन असम्भवप्रायः छ । राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र हुँदैनन् भन्ने भनाइलाई चरितार्थ गर्दै, पार्टीको एकता बचाउन भन्दा पनि आफ्नो पद बलियो बनाउन थापाले यो रणनीतिक स्वागत गरेका पनि हुनसम्छन् ।
चौथो, बल्झिएको कांग्रेसको आधिकारिकता विवाद :
देउवाको आगमनले नेपाली कांग्रेसको आधिकारिकता विवादलाई फेरि सतहमा ल्याइदिएको छ, जुन यतिबेला अदालतको तराजुमा छ । यसअघि वैशाख ४ गते सर्वोच्च अदालतले गगन थापा समूहलाई कांग्रेसको आधिकारिकता दिने फैसला गरेको थियो । तर, प्रधानन्यायाधीश मनोजकुमार शर्मासहितको इजलासले उक्त फैसलामाथि ‘निस्सा’ प्रदान गर्दै सुरुदेखि नै सुनुवाइ गर्न आदेश दिएपछि देउवा पक्ष एकाएक उत्साहित भएको छ ।
एकातिर रेड नोटिस जारी गरेरै भए पनि नेपाल झिकाउन तयार भएको भनिएको प्रहरीले देउवा सानका साथ काठमाडौं ओर्लिंदा पनि पक्राउ नगर्नु, अर्कोतिर अदालतले आधिकारिकता विवादमा पुनरावलोकनको ढोका खोल्नुले गगन थापालाई गहिरो पीर परेको छ । विद्रोह गरेर, अनेक हतकण्डा अपनाएर पाएको नेतृत्व फेरि कानुनी बाटोबाटै देउवाकै हातमा पर्ने हो कि भन्ने चिन्तामा यतिबेला गगन थापा र उनको समूह रुमल्लिएको छ ।
लोकतान्त्रिक अभ्यासबाट पार्टीभित्रै छिनोफानो गर्नुपर्ने विषयलाई अदालतको ढोकामा पु¥याएर देउवा–गगनहरुले पार्टी संयन्त्रलाई कति निकम्मा बनाएका छन् भन्ने ज्वलन्त उदाहरण हो एक कांग्रेसका दुई कांग्रेसी प्रवृती । नेतृत्व छाड्नै नसक्ने देउवा र तु.नेतृत्व चाहिने गगन थापाका कारण अहिले काग्रेस कुन कांग्रेसीको हो भन्ने विवाद अदालत पुगेको छ । अदालतको फैसला कुरेर बस्ने निरीह अवस्थामा पुगेको कांग्रेसको यो हविगतका लागि देउवाको सत्तामोह र थापाको अति–महत्वाकांक्षा दुवै बराबर जिम्मेवार छन् ।
पाँचौं, कार्यकर्ताहरुको उल्लासपूर्ण साथ :
गगन थापाले जेनजी र युवाहरूको माग भन्दै विशेष महाधिवेशन गराएर नेतृत्व पुगे । तर बिहीबार देउवाको स्वदेश फिर्तीमा देखिएको युवाहरूको बाक्लो उपस्थितिले अर्काे सन्देश दिएको छ । देउवाको स्वागतका लागि हजारौंको संख्यामा युवाहरू विमानस्थल पुग्नुले कांग्रेसभित्र गगन थापाले दाबी गरेजस्तो ‘एकलौटी युवा जमात’ उनीसँग मात्रै छैन भन्ने पुष्टि गर्छ ।
यो सहभागिता र उल्लासले देउवा समूहको आगामी रणनीति पनि स्पष्ट पारेको छ । उनीहरू आगामी १५ औं महाधिवेशन देउवाकै नेतृत्वमा गराउन चाहन्छन् । यदि सभापति गगन थापाले यो मागलाई अस्वीकार गरेमा वा अदालतबाट आधिकारिकता नपाएको खण्डमा देउवाको अभिभावकत्वमै नयाँ पार्टी निर्माण गर्नेसम्मको आन्तरिक तयारी देउवा समूहले गरिरहेको छ ।
तर, कार्यकर्ताहरूको यो उल्लास जति हेर्न लायक छ, त्यति नै चिन्ताजनक पनि छ । वैचारिक बहस, पार्टीको भविष्य र देशको नीतिका पछाडि नभएर केवल व्यक्ति पूजा र गुटगत स्वार्थका पछाडि हजारौं कार्यकर्ता कुद्नु नेपाली राजनीतिको दुर्भाग्य हो । देउवा समूहका कार्यकर्ताहरू देउवालाई ‘मुक्तिदाता’ सम्झिरहेका छन् भने थापाका कार्यकर्ताहरू उनलाई ‘खलनायक’ देखिरहेका छन् । यसले नेपाली कांग्रेसलाई वैचारिक रूपमा खोक्रो बनाउँदै लगेको छ ।
