काठमाडौं । नेकपा (एमाले)का नेता सुवास नेम्वाङले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेट हुन सक्ने सम्भावना रहेको बताएका छन् ।
उनले बाह्रखरीसँगको संक्षिप्त कुराकानीमा हिजो राति कार्यदलको १० बुँदे सहमतिपश्चात् बालुवाटार पुगेर आफूहरुले नेपालसँग भेट गर्नका लागि आग्रह गरेको बताए ।
कार्यदलको सहमतिपश्चात् कार्यदलका एकजना संयोजकसमेत रहेका नेम्वाङसँगै विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल ओलीलाई भेट्न बालुवाटार गएका थिए ।
“माधव नेपाललाई हेलो गर्नुस् । फोन गर्नुस्, भेटौँ भन्नुस् भनेका छौँ । उहाँले ठिक हो, भोलि बिहान (८–१२ बजेसम्म) गर्छु भन्नुभएको थियो । त्यसपछि के गर्नुभयो, सम्भवतः आज भेट हुनसक्छ” नेम्वाङले भने ।
आज साँझ ५ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको छ । बैठक त्यसअघि नै पनि बस्न सक्ने उनले बताए । बैठकबाट एमाले कार्यदलको १० बुँदे प्रस्ताव पारित गर्ने तयारी रहेको नेताहरुले बताएका छन् ।
