काठमाडौं । चट्ट कालो चस्मा, कालै दौरा र कालै कोट । बस्दा टक्क कोटको टाँक खोल्ने उठ्दा लगाउने । बानी व्यहोरा पनि ठ्याक्यै महेन्द्रराजाको झल्को दिने । बालेनको यो शैली देखेर नेपाली जनताले भनिरहेका थिए पक्कै यीनले भारत भ्रमणमा कालापानी, लिपुलेक र सुस्ताको कुरा उठाउछन् । सिमाकै कुरा उठाउन नसकेपनि कम्तिमा भैरहवा र पोखरामा प्लेन उडाउने गरि हवाई रुट त खुलाउछन् । नभन्दै बालेनको भारत भ्रमणमा यीनै उपलब्धी भएका छन् ।
०००
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई लिएर नेपालमा जति ठूलो अपेक्षा र चर्चा थियो, भ्रमणको अन्तिम परिणामले अन्ततः भ्रमण त्यति नै उपलब्धी मुलक बनेको छ।
‘विकसित भारत र समुन्नत नेपाल ः साझेदारीको पुनर्कल्पना’ नाम दिइएको संयुक्त दृष्टिकोणपत्रमा दुई देशबीच आर्थिक तथा विकास साझेदारीदेखि कृत्रिम बौद्धिकता (एआई), अन्तरिक्ष, खेलकुद, शिक्षा, स्वास्थ्य र कृषिसम्मका १० क्षेत्रमा सहकार्य विस्तार गर्ने उल्लेख छ। परम्परागत कूटनीतिक सम्बन्धलाई आधुनिक प्रविधि, पूर्वाधार र जनस्तरको साझेदारीसँग जोड्ने लक्ष्यसहित तयार पारिएको यो दस्तावेजले आगामी दिनमा नेपाल–भारत सम्बन्धको नयाँ मार्गचित्र प्रस्तुत गरेको छ।
संयुक्त दृष्टिकोणपत्रको पहिलो प्राथमिकतामा आर्थिक तथा विकास साझेदारीलाई राखिएको छ। भारतको ‘विकसित भारत २०४७’ र नेपालको ‘समुन्नत नेपाल’ को राष्ट्रिय आकांक्षालाई जोडेर व्यापार तथा लगानी विस्तार गर्ने योजना बनाइएको छ। यसका लागि विद्यमान व्यापार तथा लगानीसम्बन्धी नीतिगत संरचना पुनरावलोकन गर्ने, नयाँ पारवहन तथा हवाई मार्ग खोल्ने र सीमा क्षेत्रमा निर्यातमुखी उत्पादनका लागि विशेष आर्थिक क्षेत्र तथा सूचना प्रविधि पार्क स्थापना गर्न सहकार्य गर्ने सहमति भएको छ। नेपालका प्राथमिकताप्राप्त क्षेत्रमा भारतीय लगानी आकर्षित गर्ने योजना पनि दस्तावेजमा समेटिएको छ।
यसैअन्तर्गत भारतले नेपाललाई कुल १५ हजार करोड भारतीय रुपैयाँ अर्थात् २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ। यसमध्ये विपद्पछिको पुनर्निर्माण र नयाँ पूर्वाधार निर्माणका लागि ३ हजार ५ सय करोड भारतीय रुपैयाँ अनुदान तथा ऊर्जा क्षेत्रका आयोजनाका लागि ११ हजार ५ सय करोड भारतीय रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध हुनेछ।
दोस्रो प्राथमिकता भौतिक तथा डिजिटल कनेक्टिभिटीलाई दिइएको छ। अयोध्या–जनकपुरधामबीच सरयू–कमला एक्सप्रेस रेल सेवा सुरु हुनुका साथै धार्चुला र दार्चुला जोड्ने महाकाली नदीमाथिको मोटरयोग्य पुल सञ्चालनमा आएको विषयलाई उपलब्धिका रूपमा उल्लेख गरिएको छ। भैरहवा र सुनौलीमा निर्माणाधीन एकीकृत जाँच चौकी तथा बनबासा र दोधारा–चाँदनीमा बन्ने नयाँ जाँच चौकीको काम तीव्र पार्ने सहमति भएको छ।
डिजिटल कनेक्टिभिटीअन्तर्गत नेपाल र भारतका भुक्तानी प्रणाली आबद्ध गरेर सीमापार खुद्रा भुक्तानी सहज बनाउने योजना अघि सारिएको छ। भारतको यूपीआई र नेपालको राष्ट्रिय भुक्तानी प्रणालीबीचको आबद्धतालाई कार्यान्वयनमा तीव्रता दिने सहमति भएको छ। सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण तथा ग्यास पाइपलाइनको सम्भावना खोज्ने विषय पनि यसैमा समेटिएको छ।
तेस्रो क्षेत्रमा ऊर्जा, जलस्रोत र जलवायु उत्थानशीलतालाई प्राथमिकता दिइएको छ। नेपालको जलविद्युत् तथा प्रसारण पूर्वाधारमा भारतीय लगानी प्रोत्साहन गर्ने र बजारको मागअनुसार दुई देशबीच विद्युत् व्यापार विस्तार गर्ने सहमति भएको छ। पञ्चेश्वर, सप्तकोसी र सुनकोसी बहुउद्देश्यीय आयोजनालाई अघि बढाउने तथा जल तथा मौसमसम्बन्धी तथ्याङ्क वास्तविक समयमै आदानप्रदान गर्ने योजना छ। हिमतालको अनुगमन, पूर्वसूचना प्रणाली, बाढी नियन्त्रण र विपद्पछिको पुनर्लाभमा पनि सहकार्य गरिनेछ।
चौथो क्षेत्र सुशासनसँग सम्बन्धित छ। ‘डिजिटल नेपाल फ्रेमवर्क’ कार्यान्वयनका लागि डिजिटल पहिचान, भुक्तानी र ई–गभर्नेन्समा भारतले प्राविधिक अनुभव तथा विशेषज्ञता आदानप्रदान गर्नेछ। भारतको राष्ट्रिय सुशासन केन्द्रमार्फत नेपाली निजामती कर्मचारीलाई तालिम दिने र संघीय, प्रदेश तथा स्थानीय तहका निकायबीच अनुभव आदानप्रदान गर्ने योजना छ।
पाँचौँ क्षेत्रमा प्रविधि, अन्तरिक्ष र नवप्रवर्तनलाई समेटिएको छ। काठमाडौँमा स्टार्टअप सेन्टर अफ एक्सिलेन्स र पोखरामा डिजिटल नोमाड्स एन्ड इनोभेसन हब स्थापना गर्ने प्रस्ताव गरिएको छ। नेपालमा डिजिटल पार्क तथा डेटा सेन्टर निर्माणमा निजी लगानी सहजीकरण गर्ने, भारतको ‘भाषिणी’ प्रविधिसँग सहकार्य गरेर नेपाली भाषाका लागि लार्ज ल्याङ्ग्वेज मोडल विकास गर्ने र कृत्रिम बौद्धिकतामा सहकार्य विस्तार गर्ने योजना छ।
छैटौँ क्षेत्रमा शिक्षा र सीप विकासलाई प्राथमिकता दिइएको छ। नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) बाट सुरु गरी प्रतिष्ठित भारतीय उच्च शैक्षिक संस्थाका शाखा तथा क्याम्पस स्थापना गर्ने सम्भावना खोजिनेछ।
सातौँ क्षेत्रमा खेलकुदको विकासलाई समेटिएको छ। नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण एकेडेमी स्थापना गर्न र राष्ट्रिय तथा प्रादेशिक स्तरमा क्रिकेट पूर्वाधार विकास गर्न भारतले सहयोग गर्नेछ। नेपाली प्रादेशिक क्रिकेट टोलीका खेलाडीलाई भारतका राष्ट्रिय प्रशिक्षण एकेडेमीमा तालिमको अवसर दिइनेछ। ब्याडमिन्टन, टेनिस, सुटिङ र एथलेटिक्समा सहकार्य, आधुनिक बहुखेलकुद केन्द्र निर्माण तथा संयुक्त पर्वतारोहण अभियान सञ्चालनको सम्भावना पनि खोजिनेछ।
आठौँ क्षेत्रमा संस्कृति तथा पर्यटन, नवौँमा स्वास्थ्य र दसौँमा कृषि क्षेत्रलाई राखिएको छ। जनकपुर–अयोध्या, लुम्बिनी–बोधगया–सारनाथ–कुशीनगर र काठमाडौँको पशुपतिनाथलाई वाराणसीसँग जोडेर रामायण, बौद्ध तथा शिव–शक्ति धार्मिक पर्यटन सर्किट विकास गरिनेछ।
स्वास्थ्य क्षेत्रमा स्वास्थ्य चौकी, प्रसूति केन्द्र र अस्पताल निर्माण, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको स्तरोन्नति, सस्तो र गुणस्तरीय औषधिको पहुँच विस्तारका लागि नेपाल–भारत जनऔषधि केन्द्र स्थापना तथा स्वास्थ्यकर्मीलाई तालिम दिने विषय समेटिएका छन्। कृषि क्षेत्रमा भारतको अनुदान सहयोगमा चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गरिनेछ।
संयुक्त दस्तावेजले पुराना द्विपक्षीय सम्झौताको विषयलाई समेत छोएको छ। सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहित विद्यमान सम्झौताहरू आपसी सहमतिका आधारमा पुनरावलोकन गर्न सकिने उल्लेख गरिएको छ। जलस्रोत, ऊर्जा, व्यापार, वाणिज्य र सीमा सम्बन्धी बाँकी विषय आपसी छलफल तथा संवादबाट समाधान गर्ने सहमति पनि भएको छ।
यी योजना कार्यान्वयनको अनुगमन गर्न नेपालका परराष्ट्र सचिव र नेपालका लागि भारतीय राजदूतको नेतृत्वमा रहेको उच्चस्तरीय अनुगमन समूहलाई सक्रिय बनाइनेछ। उक्त समूहको बैठक कम्तीमा छ महिनामा एकपटक बस्ने र प्रगतिको प्रतिवेदन दुवै देशका परराष्ट्रमन्त्रीको सहअध्यक्षतामा रहने संयुक्त आयोगमा पेस गर्ने व्यवस्था गरिएको छ।
दस क्षेत्रमा फैलिएको यो संयुक्त दृष्टिकोणले नेपाल–भारत सम्बन्धलाई परम्परागत राजनीतिक र आर्थिक सहकार्यभन्दा बाहिर प्रविधि, नवप्रवर्तन, सीप, खेलकुद र जनस्तरको सम्बन्धसम्म विस्तार गर्ने लक्ष्य राखेको छ।
