काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा हवाई कनेक्टिभिटी विस्तारको विषयले प्राथमिकता पाए पनि भारतले दिने नयाँ हवाई रुटका विषयमा अझै सहमति जुट्न सकेको छैन ।
नेपालले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन सहज बनाउन सन् २०१४ देखि नै भारतसँग थप हवाई प्रवेशमार्ग माग्दै आएको छ । यसपटक प्रधानमन्त्री शाहको भ्रमणका क्रममा यस विषयमा सहमति हुने अपेक्षा गरिएको थियो । तर, अझै सहमति नजुटेको परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
नागरिक उड्डयन प्राधिकरणका अधिकारीसहित नेपाल–भारतबीच यस विषयमा पटकपटक छलफल भएको छ । अहिले पनि सहमति जुटाउने प्रयास भइरहेको छ । भारतले महेन्द्रनगर हुँदै नयाँ रुट उपलब्ध गराए प्रधानमन्त्री बालेनको यो भ्रमणमा ‘ब्रेक थ्रु’ हुने अधिकारीहरू बताउँछन् ।
लामो समयदेखि नेपाल–भारतबीच यस विषयमा छलफल हुँदै आएको छ । एक अधिकारीले भने, ‘आज साँझ हुने भारतका विदेशमन्त्री एस। जयशंकरसँगको छलफलमा पनि यस विषयमा कुरा हुनेछ ।’
भारतले पश्चिम बंगाल राज्यको दार्जिलिङस्थित बागडोगरा विमानस्थल र बिहार राज्यको रक्सौलस्थित विमानस्थलमा उडान गर्न नेपाली आकाश उपलब्ध गराउन प्रस्ताव गरेको छ । त्यसमा नेपालले अध्ययन गरेर जानकारी दिने बताएको छ ।
नेपाल यस प्रस्तावमा सकारात्मक देखिए पनि सुरक्षाका कारण गम्भीर छलफल भइरहेको बुझिएको छ । भारतलाई उक्त रुट प्रयोग गर्न दिँदा सैनिक विमानसमेत उडाउन सक्ने र सीमा क्षेत्रमा सैनिक गतिविधि बढ्न सक्ने भएकाले गम्भीर छलफल गरेर मात्रै निष्कर्षमा पुग्न सकिने बताइएको छ ।
भारतको बागडोगरा विमानस्थलबाट हुने उडान चिनियाँ सीमासँग नजिक पर्ने भएकाले चीनले पनि यसमा चासो राख्न थालेको छ ।
