काठमाडौँ । डेबिड मलानको अर्धशतकीय इनिङ्सको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग ९एनपीएल० को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई १३५ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन बनायो ।
सुरुवातदेखि नै लगातार विकेट गुमाएको चितवनका लागि मलानले भने उत्कृष्ट ब्याटिङ गरे । उनले ५१ बलमा ७१ रनको योगदान दिए ।
चितवनले सुरुवातमै दुवै ओपनर गुमाएको थियो । अघिल्लो खेलमा शतक प्रहार गरेका कामिल मिसारा ३ बलमा ४ रन बनाएर आउट भए । अर्का ओपनर देव खनाल ९ बलमा ६ रन बनाएर पेभेलियन फर्किए ।
त्यस्तै रवि बोपरा ८ बलमा १ रन, विवेक यादव ११ बलमा ३ रन, कुशल मल्ल ५ बलमा १ रन र उसामा मिर ५ बलमा २ रन बनाएर आउट भए । सलाउद्दिन खानले १६ बलमा १८ रन बनाए ।
सुदूरपश्चिमका लागि स्कट कुगलेनले सर्वाधिक ३ विकेट लिए । थरिन्दु रत्नायकेले २ विकेट लिँदा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र इसन पाण्डेले एक–एक विकेट लिए ।
यस खेलको विजेताले एनपीएलको तेस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी यसअघि नै फाइनल पुगिसकेको छ ।
