काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपीएल० को दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ । १३५ रनको सामान्य लक्ष्य पछ्याएको सुदूरले सात विकेट गुमाएर एक बल बाँकी छँदै जित निकालेको हो ।
सुदूरको धर्मराएको ब्याटिङ लाइन र रनको खडेरी श्रीलंकाली खेलाडी थरिन्दु रत्नायकेले तोडे । उनी नै आज सुदूरका लागि सर्वाधिक रन बनाउने ब्याटर बने । रत्नायकेले धैर्यपूर्ण ब्याटिङ गर्दै ४१ बलमा अर्धशतक पूरा गरे ।
उनी जति बल खेल्थे, त्यति नै रन बनाउँदै अघि बढिरहेका थिए । १८ ओभरको खेल सकिँदा उनले बलभन्दा रन कम बनाएका थिए । त्यसबेला सुदूरलाई जितका लागि १२ बलमा ११ रन आवश्यक थियो । रत्नायकेको यही ब्याटिङ शैली सुदूरको जितको टर्निङ प्वाइन्ट बन्यो ।
सानो लक्ष्य पछ्याए पनि सुदूरले जित निकाल्न निकै संघर्ष गर्नुपर्यो । जर्ज मुन्से १५ बलमा ८ रन बनाएर आउट भए । रिजन ढकालको बलमा विवेक यादवले उनलाई क्याच गरेका थिए । विनोद भण्डारी १३ बलमा २३ रन बनाएर आउट भए । रञ्जितकुमारको बलमा कमलसिंह ऐरीले उनको क्याच लिएका थिए ।
त्यसपछि इसन पाण्डे ९ बलमा १० रन, स्कट कुगलेन ५ बलमा २ रन र दीपेन्द्रसिंह ऐरी १६ बलमा १५ रन बनाएर आउट भए । इसन र कुगलेनलाई रञ्जितकुमारले आउट गरेका थिए भने दीपेन्द्रलाई विकेटकिपरले क्याच गरेका थिए । आरिफ शेख पनि १० बलमा १० रन बनाएर कमलसिंह ऐरीको बलमा बोल्ड भए ।
सुदूरले पावरप्लेमा दुई विकेट गुमाएर ४१ रन बनाएको थियो । चितवनले पनि पावरप्लेमा दुई विकेट गुमाएर ३० रन मात्रै बनाएको थियो । तर, लक्ष्य पछ्याउने क्रममा सुदूरका ब्याटरहरू नियमित अन्तरालमा आउट हुँदा खेल अन्तिम ओभरसम्म पुगेको थियो ।
सुदूरको जितमा चितवनको खराब फिल्डिङ पनि एउटा कारण बन्यो । उल्लेख्य दर्शकको साथ पाएको सुदूरले अन्तिम ओभरमा मात्रै चार रन बनाउनुपर्ने अवस्थामा पनि दबाब झेल्नुपर्यो ।
अन्तिम ओभरमा कामिल मिसारा बलिङ गर्न आएका थिए । तीन बलमा दुई रन मात्रै बनेको अवस्थामा सुदूरका समर्थकहरू हात जोडेर प्रार्थना गरिरहेका थिए । त्यसपछि रन लिने क्रममा फ्याबियन एलेन १० बलमा पाँच रन बनाएर आउट भए । अब दुई बलमा दुई रन आवश्यक थियो ।
त्यसपछि क्रिजमा आएका दीपक बोहराले चौका प्रहार गर्दै सुदूरलाई जित दिलाए । सुदूरले सात विकेट गुमाएर १९ ओभर ५ बलमा लक्ष्य पूरा गर्यो र एक बल बाँकी छँदै तीन विकेटको जित निकाल्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३४ रन बनाएको थियो । चितवनका लागि डेभिड मलानले सर्वाधिक ५१ बलमा ७१ रन बनाएका थिए । सलाउद्दिन खानले १६ बलमा १८ रन जोडेका थिए ।
अघिल्लो खेलमा शतक बनाएका कामिल मिसारा यस खेलमा भने तीन बलमा चार रन मात्रै बनाएर आउट भएका थिए । देव खनालले नौ बलमा ६, रवि बोपाराले आठ बलमा एक, विवेक यादवले ११ बलमा तीन र कुशल मल्लले पाँच बलमा एक रन बनाए । उसामा मिरले पाँच बलमा दुई रन जोडे ।
चितवनलाई सुदूरका बलरहरूले ठूलो योगफल बनाउन दिएनन् । स्कट कुगलेनले तीन विकेट लिए भने थरिन्दु रत्नायकेले दुई विकेट हात पारे । हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र इसन पाण्डेले एक–एक विकेट लिए ।
१३५ रनको लक्ष्य पछ्याएको सुदूरले अन्ततः कठिन संघर्षपछि जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको छ ।
