पूर्बाधारमन्त्री सुनिल लम्सालले नेपालमा लामो समयदेखि अलपत्र परेका विकास आयोजना समयमै सम्पन्न गराउन उनी स्वयम फिल्डमा खटिएका छन । ठेक्का र खरिद प्रक्रियामा कडाइ, नियमित अनुगमन तथा अवरुद्ध ठेक्का सम्झौता अन्त्य गर्न उनको निर्देशनमा अर्को कदम चालिएको छ ।पटक–पटक म्याद थप गर्दा पनि काम अघि नबढेका आयोजनाका ठेक्का तोड्ने र नयाँ प्रक्रियाबाट काम अघि बढाउने नीति लिइएको छ।
अलपत्र तथा रुग्ण आयोजनालाई प्राथमिकतामा राखेर आवश्यक बजेट विनियोजन गर्ने र प्रक्रिया छिटोछरितो बनाउने प्रयास गरिएको छ। भने सम्बन्धित मन्त्रालय र निकायहरूले आयोजनास्थलमै पुगेर ढिलासुस्तीका कारण पहिचान गर्ने तथा समयमै काम सक्न निर्देशन दिने क्रम जारी छ।
यसैगरि मन्त्री सुनिल लम्सालले मङ्सिरदेखि बेल्चा चलाउने श्रमिकले दैनिक एक हजार ७०० रुपैयाँ पारिश्रमिक पाउने बताएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनकपुरधाममा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लम्सालले यस्तो बताएका हुन्।
हाल बेल्चा चलाउने श्रमिकले दैनिक ५०० रुपैयाँ मात्रै आम्दानी गरिरहेको उल्लेख गर्दै उनले सरकारले पारिश्रमिक वृद्धि गरेकाले त्यसबाट मधेसका श्रमिक बढी लाभान्वित हुने बताए। मन्त्री लम्सालले मधेसको विकास र यहाँका नागरिकको जीवनस्तर सुधारलाई सरकारले प्राथमिकतामा राखेको पनि बताए। उनले पूर्वाधार विकासका कामलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे।
यता पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले धनुषामा सञ्चालित तथा प्रस्तावित विकास आयोजनाको स्थलगत अनुगमन गर्दै निर्माणकार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।
मन्त्री लम्सालले बिहीबार धनुषा निर्वाचन क्षेत्र नं ४ अन्तर्गत ढल्केबरको पोखरिया, इच्छापुर, नक्टाझिझ, रमदैया–सिर्सिया पुल तथा अन्दुपट्टी–कटरैत पुललगायतका क्षेत्रको निरीक्षण गरेका हुन् ।
अनुगमनका क्रममा उनले सडक, पुल तथा अन्य भौतिक पूर्वाधार आयोजनाको निर्माण अवस्था, प्रगति र स्थानीय आवश्यकताबारे जानकारी लिएका थिए । उनले लामो समयदेखि अधुरा रहेका र निर्माणमा ढिलाइ भएका आयोजनालाई प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित प्राविधिक तथा प्रशासनिक निकायलाई निर्देशन दिए ।
यसै क्रममा मन्त्री लम्सालले जनकपुरधामको विकास, सौन्दर्यीकरण तथा धार्मिक पर्यटन प्रवद्र्धनलाई सरकारले प्राथमिकतामा राखेको बताए । जनकपुरधामलाई व्यवस्थित, आकर्षक र अन्तरराष्ट्रियस्तरको धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणका काम अघि बढाइएको उनले जानकारी दिए ।
मधेस प्रदेशको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री लम्सालले सडक, पुल, भवन तथा खानेपानीलगायत पूर्वाधार निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था गरिएको बताउनुभयो । अधुरा आयोजना सम्पन्न गर्ने र नयाँ योजना आवश्यकताका आधारमा अघि बढाउने सरकारको प्राथमिकता रहेको उहाँले जानकारी दिनुभयो ।
