काठमाडौं । इसेवा ! एउटा यस्तो एप, जो ठग्नका लागि नम्बर वान। सेवा दिने मामलामा थर्ड क्लासभन्दा पनि झुर । एनपीएलको फाइनल टिकट विक्रीमा पनि प्रयोगकर्तालाई ठग्नका लागि इसेवाले यस्तै हत्कठा अपनाएको छ ।
१ बजे खुल्ने भनिएको एनपीएल फाइनलको टिकट १२ बजेर ५७ मिनेटमा सोल्ड आउट देखाइसेको थियो । तर फेरी १ बजे काउन्टडाउनसहित खुल्ला भएको नाटक गरेर खोलिएको टिकट दर्शकले काट्नै पाएनन् ।
टिकट खुल्नेवित्तिकै अनएभाइलेभल देखाएको थियो । त्यसको केही समयमै ‘सोल्ड आउट’ भइसकेको सूचना देखियो। १३ हजारभन्दा बढी दर्शक क्षमता भएको रंगशालाको टिकट आँखा झिम्क्याउन नपाउँदै कसरी सकियो ? यो इसेवाको प्रणालीभित्रैबाट गरिएको ‘डिजिटल कालोबजारी’ र सेटिङको उपज हो ? यो फाइनलमा मात्रै होइन, यस अघिका खेलहरुमा वालेटमा टिकट सकिएको देखाउने तर मैदान वरपर भने दुई नम्बरमा टिकट बेच्ने कालोवजारियाको विगविगी नै हुने गरेको छ ।
हजारौं समर्थकहरू रातभर अन्योलमा राखेर, बिहान कार्यालय र कलेजको समय छल्दै अचानक आज दिउँसो १ः०० बजे टिकट खुल्ने सूचना सार्वजनिक गरिन्छ । टिकट काट्न नपाइएला भन्ने डरले दशौं हजार समर्थकहरू १२ बजेर ५० मिनेटदेखि नै मोबाइलमा इसेवा एप खोलेर ‘रिफ्रेस’ गरिरहेका थिए। साधारण प्याराफिटतर्फ १ हजार र प्रिमियमतातर्फ २ हजार रुपैयाँ मूल्य तोकिएको टिकट किन्न उनीहरू पैसा लोड गरेर तम्तयार थिए। तर, जब घडीले ठीक १ बजायो, तब अनौठो दृश्य देखियो।
अधिकांश प्रयोगकर्ताको मोबाइलमा टिकट बुकिङको अप्सन नै खुलेन। कसैकोमा एप ‘ह्याङ’ भयो, कसैकोमा ‘सर्भर इरर’ देखायो, त कसैकोमा सिधै सोल्ड आउड देखायो । १ बजेर १ मिनेट जाँदा १ हजार रुपैयाँको साधारण टिकट गायब भइसकेको थियो भने १ बजेर २ मिनेट नपुग्दै २ हजार रुपैयाँको प्रिमियम टिकट पनि सकिएको घोषणा गरियो।
१३ हजार टिकट २ मिनेटमा कसरी बिक्यो ?
प्राविधिक रूपमा हेर्ने हो भने, कुनै पनि अनलाइन प्लेटफर्ममा एकैपटक १० हजारभन्दा बढी टिकटको भुक्तानी प्रक्रिया पूरा भएर बिक्री सम्पन्न हुन कम्तीमा १० देखि २० मिनेट समय लाग्छ। अझ इसेवा जस्तो प्लेटफर्म, जहाँ सामान्य ट्राफिक बढ्दा पनि प्रणाली सुस्त हुने गर्छ, त्यहाँ जम्मा ६० देखि १२० सेकेन्डभित्र हजारौं टिकट कसरी बिक्री भएर सकिए? कुरा रहस्यमय छ ।
सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र टिकटकमा अहिले इसेवाविरुद्ध आक्रोशको बाढी आएको छ। यो सरासर इसेवाको दर्शकलाई झुक्याएर कालो बजारीमा टिकट बेच्ने रणनीति हो । सामाजिक सञ्जालका कमेन्ट बक्सहरू नियाल्दा टिकट पाएँ भनेर खुसी साट्ने समर्थक नगन्य छन्, बरु टिकट नपाएर ठगिएको महसुस गर्नेहरूको संख्या हजारौंमा छ। बिचौलिया र कालोबजारी गर्ने गिरोहलाई एकमुष्ट टिकट सुम्पिएर आम दर्शकलाई मूर्ख बनाउने काम इसेवाले गरेको दर्शकहरुको आरोप छ ।
एनपीएलको उद्घाटन खेलदेखि नै टिकट बिक्रीमा विवाद देखिँदै आएको थियो। उद्घाटन खेलमा कुल ८ हजार ४ सय टिकट मात्र अनलाइनमा बेचिएको तथ्याङ्क बाहिर आएको थियो। बाँकी सिटहरू प्रायोजक, आयोजक र पासका नाममा बाँडिएको थियो। फाइनल खेलमा झन् ठूलो संख्यामा टिकटहरू पहिले नै बाहिर ‘सेटिङ’ मा बाँडिएको र सर्वसाधारणको आँखामा छारो हाल्न मात्र १ बजे केही सय टिकट देखाएर तुरुन्तै ‘सोल्ड आउट’ लेखिएको आरोप दर्शकहरूले लगाएका छन्।
अर्कोतर्फ, अनलाइनमा टिकट सकिएको हल्ला फिँजाएलगत्तै सामाजिक सञ्जालका विभिन्न ग्रुप र व्यक्तिगत म्यासेजमार्फत १ हजारको टिकटलाई ३ हजारदेखि ५ हजार रुपैयाँसम्ममा बेच्ने ‘ब्ल्याक मार्केट’ सक्रिय हुन थालेको गुनासो पनि आउन थालेको छ। यदि इसेवाको प्रणाली पारदर्शी र सुरक्षित थियो भने, सर्वसाधारणले १ वटा टिकट काट्न नसक्ने तर बिचौलियाको हातमा दर्जनौं टिकट कसरी पुग्छ?
टिकट बिक्री सुरु भएको कति सेकेन्डमा कतिवटा टिकट कुन–कुन आईडीबाट काटिए? कुल १३ हजार क्षमतामध्ये सर्वसाधारणका लागि कति टिकट अनलाइनमा राखिएको थियो? र, कति टिकट अन्य कोटामा बाँडियो? यसको तथ्याङ्क इसेवा र नेपाल क्रिकेट संघले तत्काल सार्वजनिक गर्नुपर्छ।
इसेवाको ठगी त्यतिमा मात्रै सिमित छैन्, उसले एनपीएलको सिजनल पास लिनेहरुलाई उनीहरुले समर्थन गरेको टिमको जर्सीसमेत उपलब्ध गराउने भनेको थियो । तर एनपीएलको फाइनल खेल हुने समय आइसक्दा पनि इसेवाले समर्थकलाई जर्सी उपलब्ध गराएको छैन् ।
इसेवा एउटा त्यस्तो सेवा प्रदायक भएको छ, जसले पछिल्लो प्रयोग कर्ताहरुलाई ठग्ने लाइसेन्स नै पाएको छ भन्दा फरक पर्दैन । मौसम खराबी वा प्राविधिक कारणले हवाई उडान रद्द हुँदा यात्रुको पैसा हप्ता दिनसम्म पनि फिर्ता नदिने, सन् २०२६ को विश्वकप फुटबल हेर्न इसेवामार्फत ’जुर’ र ’डिगो’ एपको प्याकेज किन्दा पैसा काटिने तर ४–५ दिनसम्म पनि सेवा नचल्ने र पैसा फिर्ता नगर्ने, मोबाइल बैंकिङबाट इसेवामा पैसा लोड गर्दा बैंक खाताबाट रकम काटिने तर इसेवामा ब्यालेन्स नदेखिने, अत्यावश्यक काम परेका बेला यसरी बीचमै पैसा अड्किँदा र ग्राहक सेवा बाट तुरुन्तै समाधान नदिने, कसैले सामान्य उजुरी गरेकै भरमा बिना छानबिन प्रयोगकर्ताको खाता रोक्का गरिदिने र पैसा अड्काइदिने काम इसेवाले पटक पटक गर्दै आएको छ।
त्यति मात्रै होइन्, सरकारले नेपालमा प्रतिवन्ध गरेका अनलाइन जुवा तथा अवैध हुण्डी कारोबारमा इसेवाका खाताहरू प्रयोग गरिदाँ पनि त्यसमा जिम्मेवार नबन्ने गर्दै आएको छ । इसेवा नेपालको सबैभन्दा ठूलो डिजिटल वालेट भएको दाबी गर्दै आएको छ । तर इसेवाले प्रयोगकर्ताहरुमाथि गर्दै आएको ठगी र लापरवाहीलाई हेर्ने हो भने, नेपालमा बैधानिक रुपमा सेवाग्राही ठग्ने सवैभन्दा ठुलो कम्पनि पनि इसेवा हो भन्नेमा दुई मत छैन् ।
