काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका २२ सांसदले प्रतिशोधको राजनीति नगर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । साथै पार्टीलाई एक बनाउन चाहने हो भने अध्यक्ष पदबाट राजीनामा दिन पनि उनीहरुले सुझाव दिएका छन् ।
एमाले केन्द्रीय कमिटीले स्पष्टीकरण सोध्ने निर्णय गरेको भोलिपल्ट फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका माधवकुमार नेपालसहित २२ सांसदको बैठक बसेको थियो । बैठकमा प्रतिनिसभा पुनर्स्थापनाका लागि खेलेको भूमिका र आगामी बाटोबारे छलफल भएको नेताहरुले बताएका छन् ।
सांसदहरुले पार्टीले स्पष्टीकरण सोधेको भन्ने सुनेपनि पत्र नपाएको सांसद विरोध खतिवडाले बताए । ‘यो मिडिया खपतका लागि मात्र हो, हामीसम्म (पत्र) आएको छैन’ सांसद खतिवडाले भने ।
अर्की सांसद रामकुमारी झाक्रीले स्पष्टीकरण पत्र आए राजनीतिक रुपमा प्रतिवाद गर्ने र आवश्यक परे कानूनी लडाइँमा जाने बताइन् । साथै उनले बदला भाव त्याग्न र पार्टीलाई एकतावद्ध गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरिन् ।
काठमाडौंमा रिसाएको बेला बिरालोले कहाँ गएर खाँबो चिर्थोछ भनेझैं बदला भाव नदेखाउन आग्ह गर्दै उनले भनिन्, ‘बदला लिने भए हामी तयार भयौं । त्यसैले क्षमाशील हुनुस् । पार्टी एकताका लागि मार्गप्रशस्त गर्नुस्, अध्यक्ष छोड्नुस् ।’
एमाले बैठक : २४ घण्टा पुरा नभएको भन्दै माधव समूहलाई कारबाहीबारे निर्णय भएन
नेकपा एमालेको केन्द्रीय कमिटीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका सांसदहरूलाई कारबाहीबारे मंगलबार कुनै पनि निर्णय गरेन । सोमबार बैठकको पहिलो दिन वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
बैठकबारे जानकारी दिँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले स्पष्टीकरण सोधेको २४ घण्टा पुरा नभएको कारण त्यसबारे कुनै निर्णय नगरिएको जानकारी दिए । नेपाल पक्षका सांसदहरूले पार्टीले सोधेको स्पष्टीकरणको पत्र नै नपाएको बताइरहँदा प्रवक्ता ज्ञवालीले सांसदहरूले पत्र हात पारेपछि मात्र २४ घण्टाको अल्टिमेटम सुरु हुने जानकारी दिए ।
बैठक सातैवटा प्रदेशका पार्टी अध्यक्षहरूले ब्रिफिङ गरेको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिए । सातै प्रदेशका अध्यक्षहरूले आफ्नो प्रदेशमा एमालेको सङ्गठनात्मक अवस्था तथा राजनीतिक सन्तुलनको बारे बैठकमा ब्रिफिङ गरेका थिए । पार्टीबाट केही समूह बाहिरिँदा के असर पर्छ, आसन्न निर्वाचनमा पार्टीको अवस्था कस्तो रहन्छ भन्ने ब्रिफिङका साथै अब कसरी अगाडि जाने सुझाव पनि प्रदेश अध्यक्षहरूले दिएको प्रवक्ता ज्ञवालीले बताए ।
उनका अनुसार पार्टीभित्र देखिएको विवाद छिटो समाप्त गरेर गतिशीलरुपमा अघि बढ्नुपर्ने प्रदेश अध्यक्षहरूको सुझाव रहेको थियो । प्रदेश अध्यक्षहरूले पार्टीको प्रशिक्षण अघि बढाउनुपर्ने, सरकारमा रहँदा पार्टीले गरेका काम र अहिलेको अवस्थाबारे पार्टी पङ्क्तिलाई जानकारी दिनुपर्ने र आफूबारे कमीकमजोरीहरू भए त्यसको समीक्षा पनि गरिनुपर्ने सुझाव दिएका थिए । बैठकमा उठेका प्रश्नहरूको बारेमा भोलि महासचिवले जवाफ दिने पनि ज्ञवालीले जानकारी दिए ।
त्यस्तै, बैठकमा पार्टीमा उत्पन्न समस्या समाधानका निम्ति गठन गरिएको कार्यदलको तर्फबाट संयोजक सुवास नेम्वाङले पार्टी एकताका लागि भएका विभिन्न चरणहरूमा भएका प्रयासहरूको बारेमा बैठकलाई ब्रिफिङ गरेका थिए ।
पार्टीको केन्द्रीय समितिले कार्यदलले तयार गरेको १० बुँदे प्रस्तावलाई अनुमोदन गरी सकेको छ भने कार्यदल विघटन गरिसकेको छ । बैठकमा १० बुँदे प्रस्तावलाई सिर्जनात्मक ढङ्गले अगाडि बढाउने विषयमा छलफल भएको ज्ञवालीको भनाइ छ ।
यता, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीकी समस्या समाधान गर्नका लागि गठन गरिएको आयोगलाई खारेज गर्ने वर्तमान सरकारले तयारी गरिरहेको समाचार आएको प्रति बैठकको ध्यानाकर्षण भएको पनि ज्ञवालीले बताए ।
