काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय हस्पिटलले आफ्नो सेवालाई विस्तार गर्ने गरी पञ्चवर्षीय रणनीति सार्वजनिक गरेको छ ।
पब्लिक कम्पनीको रुपमा रूपान्तरण भएपछि बनेको नयाँ सञ्चालक समिति र व्यवस्थापनको उच्च तहको जिम्मेवारी पाएकाहरुका लागि इन्डक्सन प्रोग्राम (परिचयात्मक कार्यक्रम) आयोजना गरी नर्भिकले आफ्नो पञ्चवर्षीय विस्तार रणनीति सार्वजनिक गरेको हो ।
नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले पाँचवर्षे रणनीति सार्वजनिक गर्दै सन् २०२२ देखि २०२६ भित्रमा थापाथलीमा रहेको नर्भिक अस्पतालको सेवा अझ विस्तार गर्ने बताइन् ।
थापाथलीमा दुई अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अत्याधुनिक अर्को भवन बनाएर हालको सेवालाई विस्तार गरिने पाँचवर्षे रणनीतिमा रहेको उनले बताइन् । सेवा विस्तारसँगै नर्भिक अस्पताल ‘सुपर स्पेसियालिटी अस्पताल’को रुपमा रूपान्तरण हुने र थापाथलीमा अर्को भवनसमेत बनेपछि नर्भिकले २०० शय्याको भव्य अस्पतालबाट सेवा सञ्चालन गर्ने उनले बताइन् ।
यस्तै, आगामी पाँच वर्षपभित्र नर्भिकले भैरहवामा १०० शय्या तथा सुनसरीको दुहबीमा पनि १०० शय्याको दुईवटा स्याटेलाइट अस्पताल निर्माण गरी सञ्चालनमा गरिने पञ्चवर्षीय रणनीतिमा उल्लेख छ । दुवै अस्पताल निर्माणमा तीन अर्ब रुपैयाँभन्दा बढी लगानी लाग्ने अनुमान रहेको जनाइएको छ ।
साथै, अबको पाँच वर्षमा नर्भिकको अत्याधुनिक कर्पोरेट अफिससमेत बन्ने कार्ययोजनामा उल्लेख छ । पाँचवर्षे योजनामा नर्भिकले आफ्नो सेवा विस्तारका लागि ६ अर्ब बढी लगानी थप्ने र दुई हजारभन्दा बढीका लागि प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्ने योजना बनाइएको प्रबन्ध निर्देशक चौधरीले जानकारी दिइन् ।
नर्भिक अस्पतालका निवर्तमान अध्यक्ष तथा संरक्षक वसन्त चौधरीले अस्पतालको स्तरीय सेवालाई व्यापक रुपमा विस्तार गर्ने योजना बनाएको बताए । “सम्भवतः हामी देशका विभिन्न क्षेत्रमा स्याटेलाइट अस्पताल निर्माण गर्ने पहिलो कम्पनी बन्नेछौँ,” उनले भने, “मेरो सपना अझ ठूलो हुँदै छ, अब हामीसँग पब्लिक डाइरेक्टर हुनेछन् । विभिन्न क्षेत्रका विज्ञ हुनेछन्, हिजोको दिनमा एकजनाको भिजन मात्र हुन्थ्यो भने अब हामीसँग एउटा टिमको भिजन हुनेछ ।”
अस्पतालको सेवालाई अझ गुणस्तरीय बनाउन, पारदर्शी सोच र कार्यशैलीका साथ अगाडि बढ्न, अहिलेभन्दा धेरै काम गर्ने उद्देश्यले हालै नर्भिकलाई प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिकमा रूपान्तरण गरिएको उनले बताए ।
