अब ठमेल र दरबारमाग मात्र होईन पूरै काठमाडौं २४ घण्टा खुला खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीका सबै व्यापारिक तथा बजार क्षेत्र चौबीसै घण्टा खुला गर्ने तयारी थालेको छ। जिल्ला प्रशासन कार्यालयले सोमबार सूचना जारी गर्दै हाल दरबारमार्ग र ठमेल क्षेत्र चौबीसै घण्टा खुला गर्ने निर्णय कार्यान्वयनमा रहेको र अब काठमाडौं जिल्लाका अन्य क्षेत्रलाई समेत क्रमशः २४ घण्टा सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिएको हो।
यसअघि नै काठमाडौंका ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा खुला गर्ने निर्णय भइसकेको थियो। काठमाडौं देशको संघीय राजधानी र महत्त्वपूर्ण क्षेत्र भएकाले जिल्लाभर नै २४ घण्टा व्यापार, व्यवसाय सञ्चालन गर्न आवश्यक तयारी भइरहेको प्रशासनले जनाएको छ।
त्यसका लागि आवश्यक सुरक्षा व्यवस्था, यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेटलगायत पूर्वाधारको सुनिश्चितता गर्न रणनीतिक तयारी भइरहेको प्रशासनले जनाएको छ।
यसका लागि सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी र सडक बत्तीको पर्याप्त व्यवस्था मिलाउने तयारी भइरहेको छ। त्यस्तै, यातायात, व्यापार, व्यवसाय, स्वास्थ्य सेवा, आपूर्ति व्यवस्था र सुरक्षालाई भरपर्दो बनाउने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।
जिल्लाका अन्य बजार तथा व्यापारिक क्षेत्रलाई चौबिसै घण्टा खुला गर्ने विषयमा स्थानीय तह, विभिन्न विभाग, सरकारी कार्यालय, यातायात व्यवसायी र निजी क्षेत्रसँग छिट्टै समन्वयात्मक बैठक आयोजना गरिने प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार आवश्यक तयारी पूरा भएपछि मात्रै काठमाडौंका सबै क्षेत्र २४ घण्टा खुला गर्ने निर्णय गरिनेछ। तर, तत्कालका लागि ठमेल र दरबारमार्गबाहेक अन्य क्षेत्रका व्यवसायीले भने पुरानै समयअनुसार व्यापार तथा व्यवसाय सञ्चालन गर्नुपर्नेछ। अर्को सूचना जारी नभएसम्म तोकिएको समयभन्दा बाहिर व्यवसाय सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ।
उता राति १० बजेपछि बन्द हुनुपर्ने विराटनगरका होटल, रेस्टुरेन्ट र मनोरञ्जनस्थलले अब राति २ बजेसम्म कारोबार गर्न पाउने भएका छन्।
जिल्ला प्रशासन कार्यालय मोरङले व्यवसायको प्रकृतिअनुसार सञ्चालन समय निर्धारण गर्दै रात्रिकालीन व्यवसायलाई अनुमति दिने प्रक्रिया सुरू गरेको छ।
नयाँ व्यवस्थाले कोशी प्रदेशको राजधानी विराटनगरमा लामो समयदेखि चल्दै आएको रात्रिकालीन व्यवसाय सञ्चालन सम्बन्धी विवादलाई निकास दिने बाटो खुला भएको छ।
