काठमाडौं । नेपालको सञ्चार क्षेत्रमा नेपाल टेलिकमबाहेक अन्य कुनै भरपर्दो विकल्प नरहेको अवस्थामा निजी क्षेत्रको प्रवेशले सिङ्गो टेलिकम बजारको गतिशीलता नै फेददेखि टुप्पसम्म बदलिदियो। सन् २००५ मा ‘मेरो मोबाइल’ नामबाट व्यावसायिक सेवा सुरुवात गरेको हालको एनसेलले पछिल्लो दुई दशकको यात्रा पार गर्दै नेपालीको सञ्चार गर्ने तरिका, व्यावसायिक अभ्यास र दैनिक जीवनशैलीमा नै संचार क्षेत्रमा परिवर्तन गरेको छ ।
नेपालमा मोबाइल फोन आजको जस्तो घरघरको र हरेक व्यक्तिको हातहातको सामान्य आवश्यकता बन्नुअघि यसको प्रयोग अत्यन्तै सीमित थियो र आम नागरिकका लागि यो केवल कल्पना वा सीमित वर्गको विलासिताको वस्तुजस्तै थियो।
एनसेलको प्रवेश हुनुभन्दा अघिको नेपालको दूरसञ्चार तथा मोबाइल बजारको तस्बिर अहिलेको भन्दा निकै फरक थियो । त्यतिबेला बजारमा सरकारी स्वामित्वको नेपाल टेलिकमको लगभग एकछत्र राज थियो भन्दा फरक प्रदैन् । मोबाइल फोन, टेलिफोन सेवा तथा सञ्चार पूर्वाधारका क्षेत्रमा उसैको मात्र रजगज चलेको थियो। आजको समयमा जसरी सहजै सिमकार्ड खरिद गरेर केही मिनेटमै मोबाइल अन गर्न सकिन्छ, त्यो अवस्था हिजो थिएन् ।
नेपालमा एउटा ल्यान्डलाइन टेलिफोन जडान गर्नका लागि पाँच वर्ष वा त्योभन्दा बढी समयसम्म कुर्नुपर्ने बाध्यात्मक अवस्था थियो । पाँच जिल्लामा त स्थानीय टेलिफोन एक्सचेन्जसमेत उपलब्ध थिएनन् भने केही जिल्लामा एक्सचेन्ज भए पनि सबै लाइनहरू जडान भइसकेका थिएनन्।
मोबाइल सेवाको सुरुवात सन् २००० को वरपरको समयमा भए पनि यो अति नै सीमित ग्राहक वर्गमा मात्रै केन्द्रित थियो। सन् २००३ मा नेपाल टेलिकमले प्रिपेड मोबाइल सेवाको सुरुवात गरेपछि केही हदसम्म विस्तारको प्रयास भए पनि सेवा विस्तारको गति र नेटवर्कको उपलब्धता निकै न्यून थियो। बजारमा कुनै पनि प्रतिस्पर्धा नभएको कारण ग्राहकसँग सेवा प्रदायक छनोट गर्ने कुनै पनि प्रकारको विकल्प थिएन। अर्थात्, ग्राहकले मोबाइल सेवा लिन चाहे पनि उनीहरूसँग नेपाल टेलिकमबाहेक अर्को कुनै पनि विकल्प छनोट गर्ने छुट थिएन। त्यो सेवा लिन पनि पावर लगाउने अथवा घुस खुवाउनुपर्ने अवस्था थियो ।
त्यसबाहेक, मोबाइलमा कल गर्दा तिर्नुपर्ने शुल्क अहिलेको तुलनामा अत्यधिक महँगो थियो। आधुनिक समयमा जस्तो सस्तो कल प्याकेज वा निस्शुल्क कुराकानी गर्ने सुविधाको कल्पनासमेत गर्न सकिंदैनथ्यो। सन् २००५ जुन ६ अघिसम्म नेपालमा मोबाइलमा आउने इनकमिङ कलसमेत निःशुल्क थिएन। अर्थात्, आफूले फोन नगरेर अरूले फोन गर्दा पनि रिसिभ गरेको शुल्क तिर्नुपर्ने अवस्था थियो।
यस्तो असहज, महँगो र एकाधिकारवादी बजारमा सन् २००५ सेप्टेम्बर १७ बाट ‘मेरो मोबाइल’ का नामबाट व्यावसायिक सेवा सुरु भयो। यो नेपालको दूरसञ्चार इतिहासमा पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवाप्रदायक थियो । सन् २०१० मा नाम परिवर्तन गरेर एनसेल राखियो। निजी क्षेत्रको आगमनले नेपालको टेलिकम बजारमा खुला प्रतिस्पर्धाको ढोका खोलिदियो। एनसेलको प्रवेशसँगै मोबाइल सिमकार्ड प्राप्त गर्न लामो लाइन बस्नुपर्ने वा वर्षौं कुर्नुपर्ने बाध्यताको अन्त्य भयो। निजी क्षेत्रको आक्रामक व्यावसायिक रणनीति, बिक्री केन्द्रहरूको बिस्तार र ग्राहक सेवामा आएको तिब्र प्रतिस्पर्धाले सिमकार्ड खरिद प्रक्रियालाई सहज बनाइदियो। परिणामस्वरूप, मोबाइल फोन सीमित हुनेभन्दा पनि आम नागरिकको पहुँचमा पुग्न सफल भयो।
एनसेलले बजारमा प्रवेश गरेसँगै सुरु गरेको मूल्य प्रतिस्पर्धाले नेपाल टेलिकमलगायत अन्य सेवाप्रदायकहरूलाई समेत प्रतिस्पर्धात्मक दबाबमा ल्यायो। कम्पनीले विभिन्न समयमा ल्याएका सस्तो भ्वाइस प्याकेजहरू, विभिन्न नेटवर्कमा सुलभ रूपमा कल गर्न मिल्ने आकर्षक प्याकेजहरू, डेटा प्याकेजहरू, अन्तर्राष्ट्रिय कलमा सहुलियत र रोमिङ सेवामा सहजताजस्ता अफरहरूले बजारको परिभाषा नै बदलिदियो। जब बजारमा अर्को बलियो विकल्प आयो, तब नेपाल टेलिकमले पनि आफ्नो सेवाको मूल्य घटाउन, नेटवर्क बिस्तार गर्न र ग्राहकलाई आकर्षित गर्न विभिन्न प्याकेजहरू ल्याउन बाध्य भयो। यस प्रकारको प्रत्यक्ष प्रतिस्पर्धाले गर्दा नेपाली उपभोक्ताले धेरै कम मूल्यमा गुणस्तरीय सेवा र सस्तो कलको सुविधा उपभोग गर्न पाए।
सेवाको मूल्यमा मात्र नभई प्रविधि भित्र्याउने मामिलामा पनि एनसेलको आगमनले ठूलो फड्को मार्न मद्दत ग¥यो। सन् २०१० मा एनसेलले नेपालमा थ्रीजी सेवाको औपचारिक सुरुवात ग¥यो, जसले मोबाइलबाट इन्टरनेट चलाउने, भिडियो कल गर्ने र डिजिटल सामग्रीको प्रयोग गर्ने नयाँ युगको ढोका खोल्यो। सन् २०१० मै विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा थ्रीजी सेवा विस्तार गर्नु नेपालको दूरसञ्चार इतिहासको एउटा महत्त्वपूर्ण उपलब्धि थियो, जसले नेपालको सञ्चार क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा समेत चर्चामा ल्यायो। यसैगरी, प्रविधिको विकासको क्रमलाई निरन्तरता दिँदै सन् २०१७ मे ३१ मा एनसेलले फोरजी सेवाको सुरुवात ग¥यो। फोरजीको सुरुवातसँगै मोबाइल इन्टरनेटको गतिमा अभूतपूर्व क्रान्ति आयो। मोबाइलबाट उच्च गुणस्तरका भिडियोहरू सहजै हेर्न मिल्ने भयो भने अनलाइन कक्षा, डिजिटल शिक्षा, डिजिटल कारोबार, अनलाइन व्यापार, सामाजिक सञ्जालको प्रयोग र विभिन्न डिजिटल व्यवसायहरूले देशव्यापी रूपमा फड्को मारे।
आर्थिक र सामाजिक योगदानको दृष्टिकोणबाट हेर्दा पनि एनसेल नेपालको दूरसञ्चार क्षेत्रको एउटा ठूलो निजी लगानीकर्ता तथा राज्यलाई सबैभन्दा बढी कर बुझाउने प्रमुख करदाताहरूमध्ये एकका रूपमा उभिएको छ। कम्पनीको आधिकारिक विवरण र तथ्यांकअनुसार स्थापना कालदेखि हालसम्म सरकारले प्राप्त गरेको विभिन्न कर तथा शुल्कहरूमा एनसेलको योगदान ३०० अर्ब रुपैयाँभन्दा बढी रहेको छ। यसले देशको राजश्व संकलनमा प्रत्यक्ष टेवा पु¥याएको छ। साथै, कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, खेलकुद र वातावरण संरक्षणजस्ता क्षेत्रहरूमा पनि विभिन्न किसिमका कल्याणकारी कार्यक्रमहरू सञ्चालन गरेर यसले समाजप्रतिको आफ्नो उत्तरदायित्व निर्वाह गर्दै आएको छ।
त्यतिमात्रै होइन्, अहिले विश्व सिक्स जीको तयारीमा रहँदा नेपालमा फाइभ जी समेत प्रयोगमा आउन सकेको छैन् । निजी सेवा प्रदायक एनसेलले २०२१ मै नेपालमा फाइभ जी परिक्षणको अनुमती मागेपनि नेपाल टेलिकमले अनुमती नदिदाँ अहिलेसम्म नेपालमा फाइभ जी प्रयोगमा आउन सकेको छैन् ।
सरकारी स्वामित्वको नेपाल टेलिकमले नेपालमा फाइभ जीको सफल परिक्षण गरेको भनेपनि अहिलेसम्म यसको प्रयोग भने भएको छैन् । एनसेलमाथि लगाइएको आर्थिक सिमितताका कारण एनसेल समेत फाइभ जी भित्राउने अवस्थामा नहुँदा यो योजना अहिले अन्यौलमा छ ।
एनसेलको आगमन र त्यसपछि विकसित भएको प्रविधिले नेपालको समग्र डिजिटल अर्थतन्त्रको निर्माणमा गहिरो प्रभाव पारेको छ। मोबाइल इन्टरनेटको देशव्यापी विस्तारले गर्दा नै आज नेपालमा डिजिटल वालेटमार्फत हुने भुक्तानी, ई–कमर्स व्यवसाय, अनलाइन विज्ञापन, डिजिटल मनोरञ्जन र घरमै बसेर विश्वसँग जोड्ने सञ्चार अभ्यासहरू सम्भव भएका छन्। यद्यपि, यो परिवर्तन केवल एउटा मात्र कम्पनीको एक्लो प्रयासको परिणाम भने होइन; यो नेपाल टेलिकमको परिमार्जित सेवा, अन्य इन्टरनेट सेवाप्रदायकहरूको सहभागिता, बजारमा भित्रिएका सस्तो स्मार्टफोनहरू र विभिन्न डिजिटल प्लेटफर्महरूको संयुक्त प्रयासको परिणामस्वरूप स्थापित भएको यथार्थ हो। समग्रमा हेर्दा, एनसेलको प्रवेशले नेपालको एकाधिकारयुक्त दूरसञ्चार बजारलाई तोडेर जुन स्वस्थ प्रतिस्पर्धाको संस्कृति बसाायो, त्यसैको आधारमा आज नेपाली उपभोक्ताले सस्तो दरमा भ्वाइस कल, सुलभ मोबाइल डेटा र द्रुत गतिको इन्टरनेट प्रयोग गर्न र डिजिटल युगमा रूपान्तरण हुन सफल भएका छन्।
