काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कारबाही गर्न सिफारिस गरेको छ ।
सोमबार प्रतिनिधि सभामा पेस भएको समितिको प्रतिवदेनको १८ नं. बुँदामा रवि लामिछानेसहितलाई कारबाही गर्न सिफारिस गरिएको छ । प्रतिवदेनको बुँदा नं. १८.१.४ मा भनिएको छ, “‘अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानूनबमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।”
उता रविले भने प्रतिवदेनले आफू सहकारी ठगीमा संलग्न नभएको पुष्टि गरेको दाबी गरेका छन् । समिति सभापति सूर्य थापाले प्रतिवदेनको सार सुनाउँदै प्रतिनिधि सभामा पेस गरेपछि संसद् भवनबाहिर पत्रकारहरूसँग कुरा गरेका रविले भनेका थिए, “मैले प्रतिवदेन त पढेको छैन तर, सार सुन्दा के पुष्टि भयो भने सहकारी ठगी प्रकरणमा मेरो संलग्नता छैन भन्ने पुष्टि भयो । रास्वपा उपसभापति, प्रतिवेदन तयार पार्ने संसदीय समितिका सदस्यसमेत रहेका रास्वपा सांसद शिशिर खनालले त रवि लामिछानेले ‘क्लिन चीट’ नै पाएको उद्घोष गरे । तर, प्रतिवेदनमा भने लामिछानेलाई कारबाही गर्न सिफारिस गरिएको छ ।
यता सत्ता साझेदार दल नेपाली कांग्रेसले भने लामिछानेले ‘क्लिन चीट पाएँ’ भन्दै हिँड्न नपाउने प्रतिक्रिया दिएको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भनेका छन्, “उहाँ (रवि लामिछाने) गोरखा मिडियाको जिम्मेवारी तहमा रहँदा पनि पैसा आएको छ । त्यो मिडिया सहकारीबाट पैसा लिएरै सञ्चालन गर्नुभएको देखिन्छ । ८५ करोड लिएर कहाँ–कहाँ के–के गर्नुभयो ? अनि निर्धक्कपूर्वक क्लिन चीट पाएँ भन्दै घोषणा गर्दै हिँड्नुहुन्छ भने त्योभन्दा गैरजिम्मेवार के हुन्छ ? त्यो मिल्दैन ।”
