काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक र बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ ।
सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा काठमान्डुमाथि ७ रनको रोमाञ्चक जित हासिल गरेको हो । सुदूरपश्चिम रोयल्सले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमान्डु गोर्खाजले पूरै २० ओभर खेल्दा ७ विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो ।
सुदूरपश्चिमले पछिल्ला दुई खेलमा लगातार कम स्कोर डिफेन्ड गर्दै शानदार जित हात पारेको हो ।
लिग चरणमा सबै ७ खेल खेलिसकेको सुदूरपश्चिमले ७ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । शीर्ष दुईमा रहने सम्भावना बलियो बनाएको छ । अब लुम्बिनी लायन्स वा काठमान्डु गोर्खाज मध्ये एक टिम अन्तिम खेलमा पराजित भएमा सुदूरपश्चिम शीर्ष दुईमा रहने पक्का छ ।
उता लगातार चार खेल जितेपछि पहिलो हार बेहोरेको काठमान्डु ६ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा छ । काठमान्डुले लिगको अन्तिम खेलमा पोखरा एभेन्जर्सँग आइतबार खेल्नेछ र उक्त खेल जित्दै शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने अवसर अझै कायम छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक मदतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको हो । दीपेन्द्रले सर्वाधिक ६० रन बनाए । थरिन्दु रत्नायकेले अविजित २६ र आरिफ शेखले १६ रन योगदान गरे ।
८ रनमै ४ विकेट गुमाएको सुदूरपश्चिमको इनिङ्स कप्तान दीपेन्द्रले सम्हालेका थिए । दोस्रो ओभरमा क्रिजमा पुगेका दीपेन्द्रले अन्तिम ओभरमा आउट हुनुअघि ५५ बलमा ५ चौका र २ छक्का मदतमा ६० रन जोडे ।
जारी एनपीएलमा दीपेन्द्रको यो दोस्रो अर्धशतक हो । उनले यसअघि पोखरा एभेन्जर्स विरुद्ध अविजित ५१ रन बनाएका थिए । उनी दुई अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । यसअघि काठमान्डुका रासिद खानले पनि दुई अर्धशतक प्रहार गरिसकेका छन् ।
काठमान्डुका लागि बलिङमा जहानदाद खानले ४ ओभरमा १ मेडन राख्दै २२ रन खर्चेर ३ विकेट लिए । यस्तै सन्तोष यादवले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए ।
