त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोह सोमबार हुँदैछ।
त्रिपुरेश्वरस्थित रंगशालामा ४९औं दीक्षान्त समारोहमा ७३ हजार बढी दीक्षित हुने त्रिविका रजिष्ट्रार पेशल दाहालले जानकारी दिए ।
त्रिविबाट दीक्षित हुने विद्यार्थी संख्या ७३ हजार बढी भए पनि दशरथ रंगशालामा हुने समारोहमा प्रमाणपत्र बुझेर दीक्षित हुने विद्यार्थी संख्या भने साढे १२ हजार रहेको रजिष्ट्रार दाहालले बताए ।
विद्यार्थीको अभिभावकसहित समारोहमा करिब २८ हजार संख्यामा उपस्थित हुने अनुमान छ ।
अनलाइन मार्फत आवेदन दिएका विद्यार्थीहरू दीक्षित हुन लागेको उनको भनाइ छ । यो वर्ष एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थीलाई विभिन्न विभूषणबाट विभूषित गराइँदै छ । उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै एमफील र पीएचडी तर्फ गरी ११३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिने सूचना अधिकारी दाहालले बताए ।
पार्किङ स्थल तोकियो
दीक्षान्त समारोहका लागि पार्किङ स्थल पनि तोकिएको छ । परीक्षा नियन्त्रण कार्यालयले टुँडिखेल, विश्वनिकेतन मावि, वर्ल्ड ड्रेड सेन्टर र राष्ट्रिय खेलकुद परिषद्को कार्यालयमा पार्किङस्थलत तोकेको हो ।
टुँडिखेलमा पूर्व र उत्तर रुटबाट आउने सम्पूर्ण सवारीसाधनहरू पार्किङ गर्न सकिनेछ । त्यस्तै विश्व निकेतनमा कालीमाटी रुटबाट आउने सवारीसाधनहरू, वर्ल्ड ट्रेड सेन्टरमा पुल्चोकबाट आउने सवारीसाधन र राखेपमा त्रिविका पदाधिकारी तथा कर्मचारीहरूका सवारी साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको हो ।

