काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई उद्यमशीलतासँग जोड्नुपर्ने आवश्यकता औँल्याएका छन्। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ३० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नवीकरणीय उर्जालाई अनुदानमा आधारित सीमित कार्यक्रममा मात्र नराखी उद्यमशीलता र उत्पादनसँग जोड्नु पर्ने बताएका हुन् ।
मन्त्री श्रेष्ठले निजी क्षेत्रको लगानी, नवीन प्रविधि र स्थानीय पछिल्लो तीन दशकमा हासिल भएका उपलब्धिलाई मात्र पर्याप्त मान्न नसकिने बताउँदै नवीकरणीय ऊर्जालाई रोजगारी सिर्जना र समग्र आर्थिक समृद्धिको भरपर्दो आधारका रूपमा विकास गर्नुपर्नेमा विशेष जोड दिएका छन्।
जलवायु परिवर्तनको उच्च जोखिमलाई ध्यानमा राख्दै केन्द्रीय ऊर्जा प्रणालीसँगसँगै विकेन्द्रीकृत तथा वितरित नवीकरणीय ऊर्जा प्रणालीको प्रवद्र्धन र विकास अपरिहार्य रहेको उनको भनाई छ । आधुनिक प्रविधिको उपयोग गर्दै स्थानीय स्तरमै ऊर्जा उत्पादन र खपत बढाउन सके मात्र मुलुक ऊर्जा क्षेत्रमा आत्मनिर्भर हुन सक्ने उनको भनाइ थियो। यसका लागि सरकारले निजी क्षेत्रको लगानी आकर्षित गर्ने र नवीन प्रविधिलाई गाउँगाउँसम्म पु¥याउने नीति लिएको उनले बताएका छन् ।
साथै मन्त्री श्रेष्ठले सरकारले एलपी ग्यासमुक्त पालिकाको अवधारणालाई द्रुत गतिमा अगाडि बढाउने तयारी गरिरहेको समेत बताएका छन् । उनले यो अभियान एउटा ऊर्जा कार्यक्रम मात्र नभएर स्थानीय तहको आर्थिक विकास, वातावरणीय संरक्षण र ऊर्जामा आत्मनिर्भरता हासिल गर्ने नयाँ अभ्यास भएको बताए । प्रत्येक पालिकाको ऊर्जा सम्भाव्यता, स्थानीय माग, खपतको अवस्था र भविष्यको आवश्यकताको विस्तृत अध्ययन गरेर मात्र एकीकृत योजना बनाउनुपर्ने भएकाले यस अभियानलाई साकार पार्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले नेतृत्वदायी भूमिका खेल्नुपर्ने मन्त्री श्रेष्ठको भनाई थियो ।
