काठमाडौं । सात दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीले सरकारी वार्ता टोलीसँग वार्ता गर्न अस्वीकार गरेका छन्। डा. केसीले शिक्षा तथा खेलकुदमन्त्री वा प्रधानमन्त्रीसँग मात्र वार्ता गर्ने शर्त राखेका छन्। अरुसँग गरिएको सहमति कार्यान्वयन नहुने गरेकाले अब शिक्षामन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने उनको भनाइ छ।
त्यस्तै, यसअघिको सत्याग्रहका क्रममा गरिएको सहमति कार्यान्वयन हुनुपर्ने डा. केसीको शर्त छ।
डा. केसीसँग वार्ता गर्न सरकारी वार्ता टोली बुधबार साँझ शिक्षण अस्पताल पुगेको थियो। डा. केसीले आफ्ना शर्त सुनाउँदै सरकारी वार्ता टोलीलाई फिर्ता पठाइदिएका छन्। सरकारले बुधबार मात्रै वार्ता टोली गठन गरेको थियो।
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसी एक सातादेखि सत्याग्रहमा छन्। इलाममा सत्याग्रह सुरु गरेका केसीको स्वास्थ्यमा समस्या आएपछि काठमाडौं ल्याइएको हो।
उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ। उनले अस्तालमै सत्याग्रह जारी राखेका छन्।
