नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज (बिहीबार) दुई वटा खेलहरू हुँदै छन्।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दुई खेलहरू हुन लागेका हुन्। आज मध्यान्ह साढे १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लाइन्स र जनकपुर बोल्ट्स भिड्दै छन्। लुम्बिनी लिग तालिकाको शीर्ष स्थानमा छ । उसले ३ खेल मध्ये २ मा जित र एक खेल वर्षाका कारण रद्द हुँदा बराबरी अंक बाँडेको छ ।
जनकपुर बोल्ट्स भने लिग तालिकाको चौथो स्थानमा छ । उसले ४ खेल खेलेकोमा २ मा जित र २ मा हार बेहोरेको छ ।अघिल्ला दुई संस्करणमा एकअर्कालाई पराजित गरेका दुवै टोली यसपटक कीर्तिपुरमा आमनेसामने हुँदा जनकपुरलाई पुनरागमनको चुनौती छ भने लुम्बिनीलाई अपराजित यात्रा कायम राख्नुपर्ने दबाब।
यी दुई टोलीबीचको पछिल्लो प्रतिस्पर्धा बराबरीको अवस्थामा छ। सन् २०२४ मा जनकपुरले लुम्बिनीलाई एक रनले पराजित गरेको थियो। सन् २०२५ मा भने लुम्बिनीले चार विकेटको जित निकाल्दै त्यसको जवाफ फर्काएको थियो। त्यसैले आजको खेलमा जनकपुरसँग पुरानो अग्रता कायम राख्ने र लुम्बिनीसँग प्रतिस्पर्धामा अग्रता लिने अवसर हुनेछ।
यस्तै, अपरान्ह साढे ४ बजे हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमान्डु गोर्खाजले खेल्ने छन्। विराटनगर किंग्स अंक तालिकाको दोस्रो स्थानमा छ । उसले ४ खेलेकोमा २ मा जित र २ मा हार बेहोरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार विराटनगर किङ्सले काठमाडौं गोर्खाजको सामना गर्दा आन्द्रे रसेलको प्रदर्शनमा विशेष नजर हुनेछ।
अबुधाबी टी–१० खेल्न यूएई जाने तयारीमा रहेका रसेलले विराटनगरबाट थप एक खेल खेल्ने बताएका छन्। त्यसैले काठमाडौंविरुद्धको खेल नै उनको अन्तिम हुनेछ। ब्याटिङ र बलिङ दुवैमा प्रभाव पार्दै आएका उनी विराटनगरका मुख्य हतियार हुन्। अर्कोतर्फ, कर्णाली याक्सविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका करण केसी र राशिद खान काठमाडौंको मुख्य भरोसा हुनेछन्।
रसेलले सुरुमा जनकपुर बोल्ट्सविरुद्धको खेलपछि नै एनपीएल छाड्ने योजना बनाएका थिए। तर‚ नेपालमा खेल्न पाउँदा खुसी लागेको र बसाइ लम्ब्याउन चाहेको भन्दै उनले विराटनगरबाट थप एक खेल खेल्ने निर्णय गरेका हुन्।यता काठमान्डु भने अंक तालिकाको सातौं स्थानमा छ । उसले २ खेल खेलेकोमा १ मा जित र १ मा हार बेहोरेको छ । अहिलेसम्म सबै टोलीले कम्तीमा २ वटा खेल खेलिसकेका छन् । पोखरा एभेन्जर्स लगातार तेस्रो हारसहित तालिकाको पुछारमा छ । आठ वटा टोली सहभागी तेस्रो संस्करणको एनपीएल आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।
