काठमाडौं । ३० वर्षीय ईनम सापकोटा अहिले देशको प्रशासनिक, न्यायिक र राजनीतिक क्षेत्रमा सबैभन्दा बढी चर्चामा आएका पात्र बनेका छन्। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, विभिन्न तहका न्यायाधीशहरू, बहालवाला तथा अवकाशप्राप्त सुरक्षा अधिकारीहरू, राजनीतिज्ञहरू, कानुन व्यवसायीहरू र कारागारमा थुनामा रहेका उच्च प्रोफाइलका व्यक्तिहरूबीच सम्पर्क र सूचना आदानप्रदान गराउने मुख्य माध्यमका रूपमा उनी अनुसन्धानबाट खुलेका छन्। उनको मोबाइल परीक्षणबाट अदालतमा हुने सेटिङ, सरुवा तथा बढुवा, मुद्दा मिलाउने आश्वासन, ठूला ठेक्कापट्टा र विदेशमा सम्पत्ति व्यवस्थापनसम्बन्धी विवरण भेटिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको विशेष ब्युरोले यसको अनुसन्धान अगाडि बढाएको छ। सामान्य अवस्थामा कुनै आपराधिक पृष्ठभूमि नभएका र कुनै उजुरी वा मुद्दा दर्तासमेत नभएका सापकोटाको यो रहस्यमय जालोले न्यायपालिका र सुरक्षा निकायको साखमाथि नै प्रश्न उठाएको छ।
गत असोज ११ गतेअघिसम्म ईनम सापकोटा को हुन् भन्ने विषयमा राज्यका कुनै पनि सुरक्षा निकायलाई जानकारी समेत थिएन। देशको नीति, निर्णय तथा ठेक्कापट्टामा प्रभाव पार्ने बिचौलियाहरूको लामो सूचीमा समेत उनको नाम कहिल्यै आउने गरेको थिएन। तर, जब पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षाका लागि भन्दै टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालय लगियो र त्यहाँ उनको मोबाइल जाँच गरियो, त्यसपछि नै अनुसन्धान अधिकृतहरूले सापकोटाको खोजी तीव्र बनाएका थिए। नातागोता वा अन्य कुनै प्रत्यक्ष पारिवारिक सम्बन्ध नरहे पनि पूर्वप्रधानन्यायाधीश जबरासँग सापकोटाको बारम्बार फोन सम्पर्क भएको तथ्य बाहिर आयो।
बराको मोबाइलका कल रेकर्ड र मेसेजहरू विश्लेषण गर्दा त्यसमा सुरक्षाकर्मी, राजनीतिज्ञ र अन्य प्रभावशाली व्यक्तिहरूसँगको बाक्लो उठबसको सूचना प्राप्त भयो। त्यसपछि प्रहरी प्रधान कार्यालय नक्सालमा रहेको आतंकवाद तथा अन्तरदेशीय अपराध अनुसन्धान गर्ने विशिष्टीकृत निकाय विशेष ब्युरोलाई सापकोटाको खोजीका लागि परिचालन गरिएको थियो।
विशेष ब्युरोले गरेको अनुसन्धानका क्रममा सापकोटाको मोबाइलको लोकेसन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा सक्रिय रहेको देखिएको थियो। त्यसपछि सादा पोसाकमा खटिएको प्रहरीको विशेष टोलीले उनलाई विमानस्थल क्षेत्रबाटै नियन्त्रणमा लिएको थियो। पक्राउ पर्दा सापकोटा आफैं अक्क न बक्क भएका थिए किनभने उनलाई आफूविरुद्ध कुनै उजुरी वा पक्राउ पुर्जी जारी भएको कुनै पूर्वजानकारी थिएन। उनले प्रहरीलाई पेट दुखेर जँचाउन दिल्ली जान लागेको बताएका थिए।
सुरुवाती चरणमा सापकोटाले लामो समयसम्म मुख खोलेका थिएनन् र सबै विषयमा मौनता साँध्न खोजेका थिए। तर, पूर्वप्रधानन्यायाधीश जबराको मोबाइलबाट प्राप्त भइसकेका प्रमाण र डिजिटल डेटाका कारण उनी धेरै समय मौन बस्न सक्ने अवस्था रहेन।
प्रहरीले सापकोटाको साथबाट बरामद गरिएका दुई वटा मोबाइल फोनहरूको फरेन्सिक तथा प्राविधिक जाँच सुरु गरेपछि झन् ठूला रहस्यहरू खुल्दै गए। उनका ह्वाट्सएप च्याट र कल विवरणहरूमा नेपाल प्रहरीका उच्चपदस्थ अधिकारीहरू, बहालवाला तथा पूर्वन्यायाधीशहरू, विभिन्न राजनीतिक दलका नेताहरू र कानुन व्यवसायीहरूसँगको संवाद फेला परेको छ। विशेष गरी उनले विभिन्न मुद्दामामिलामा फसेका व्यक्तिहरूले आफ्नो मुद्दा अदालतबाट मिलाइदिनुप¥यो भन्दै उनलाई अनुरोध गरेको र ईनमले पनि अदालतमा सबै कुरा मिलािसकेको भन्दै आश्वासन दिएको कुरा उनले बयानमा समेत स्वीकार गरेका छन्।
अनुसन्धानको दायरा फराकिलो हुँदै जाँदा सापकोटाको सम्पर्क ललितपुरको नक्खु कारागारभित्र रहेका कैदीहरूसँग समेत जोडिएको पाइएको छ। सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरको अभियोगमा कारागारमा थुनामा रहेका दीपक भट्ट, उनका परिवारका सदस्यहरू तथा सुलभ अग्रवालको समूहसँग पनि सापकोटाको निरन्तर सम्पर्क रहेको प्रमाण प्रहरीले फेला पारेको छ। स्रोतका अनुसार यो सम्पूर्ण जालोको मुख्य कडी नै ईनम सापकोटा हुन् जसले बाहिरका बिचौलिया र भित्रका थुनुवाहरूबीच पुलको काम गरिरहेका थिए। सर्वोच्च अदालतमा दीपक भट्टका तर्फबाट थुनामुक्त गरिपाऊँ भन्दै परेको निवेदन र त्यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा परेको बेनामे उजुरीको पृष्ठभूमिमा पनि यही समूहको सक्रियता रहेको खुलेको छ। बैंकिङ कसुरमा करिब ४२ करोड १८ लाख रुपैयाँ र सम्पत्ति शुद्धीकरणको कसुरमा करिब २६ अर्ब ६३ करोड रुपैयाँ बिगो दाबी गरिएका भट्टजस्ता व्यक्तिहरूलाई छुटाउनका लागि न्यायपालिकाभित्र ठूलै चलखेल भएको आशङ्का गरिएको छ।
सापकोटाको आर्थिक गतिविधि नेपालमा मात्र सीमित नरहेको र उनको साम्राज्य विदेशसम्म फैलिएको पाइएको छ। अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार सापकोटाको नाममा सिंगापुरमा एउटा कम्पनी दर्ता भएको देखिएको छ भने दुबईमा समेत अपार्टमेन्ट खरिद गरिएको पाइएको छ । उनी नेपालभन्दा विदेशमा बढी समय बिताउने गरेको र नेपालका विभिन्न ठूला ठेक्कापट्टा तथा उच्चपदस्थ व्यक्तिहरूको अवैध सम्पत्ति व्यवस्थापन गर्ने मुख्य गिरोहका रूपमा काम गर्ने गरेको अनुमान गरिएको छ। अनुसन्धानका क्रममा सापकोटाको मोबाइल च्याटमा नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा परेका पूर्वगृहमन्त्री बालकृष्ण खाण, सम्पत्ति शुद्धीकरणको आरोप लागेका पूर्वमन्त्री दीपक खड्का, कांग्रेस नेता उमेश श्रेष्ठलगायतका नामहरू पनि जोडिएका छन्। नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला अदालतबाट आफ्नो पक्षमा फैसला गराउनका लागि विभिन्न नेताहरूसँग ईनमले सम्पर्क गरेको र सेटिङ मिलाएको दाबी गरिएको छ।
अदालतमा मुद्दा विचाराधीन रहेका उच्चपदस्थ व्यक्तिहरूसँग मात्र नभई न्यायपालिकाका केही पूर्वपदाधिकारीहरूसँग पनि सापकोटाको बाक्लो सम्बन्ध रहेको खुलेको छ। पूर्वन्यायाधीश नवराज थपलिया, अदालतका बिचौलिया भनिने दीपक तिमिल्सिना, पूर्वप्रधानन्यायाधीशका भाइ प्रभुशमशेर जबरा र व्यवसायी नवीनराज बस्नेतसँग सापकोटाको निरन्तर कुराकानी हुने गरेको प्रमाण भेटिएको छ। सोही आधारमा गत असोज २२ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यी सबै व्यक्तिका घरमा एकसाथ छापा मारी महत्वपूर्ण डिभाइसहरू र कागजातहरू नियन्त्रणमा लिएको छ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सापकोटाको सम्बन्धको सुरुवात उनीहरूको पारिवारिक तथा स्कुले जीवनबाट भएको खुलेको छ। ललितपुरको लिटल एञ्जेल्स स्कुलमा जबराका छोरा सचिन्द्रशमशेर जबरा र ईनम सँगै पढेको र त्यतिबेलादेखि नै चिनजान भएको सापकोटाले बताएका छन्। सोही पुरानो चिनजानलाई आधार बनाएर उनी पूर्वप्रधानन्यायाधीश जबराको नजिक पुगेको र उनीमार्फत अन्य न्यायाधीश तथा सुरक्षा अधिकारीहरूसँगको पहुँच विस्तार गरेको अनुसन्धानबाट खुलेको छ।
यो प्रकरणमा सबैभन्दा सनसनीपूर्ण घटना सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहालको बर्खास्ती बनेको छ। ईनम सापकोटाको मोबाइलबाट प्राप्त सूचना र संवादका आधारमा एआईजी दाहालले पदीय मर्यादाविपरीत कार्य गरेको ठहर गर्दै गृह मन्त्रालयले उनलाई सेवाबाट बर्खास्त गरेको छ। पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरी उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु लगिएको रात एआईजी दाहाल कसैलाई जानकारी नगराई रातको करिब ३ बजे त्यहाँ पुगेका थिए र बिहान ५ बजेसम्म बसेका थिए। सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई समेत यसको कुनै सुइँको थिएन। त्यसै समयमा एआईजी दाहालको पदावधि थप गर्ने सिफारिसको तयारी भइरहेको थियो। तर, ईनम सापकोटाको ह्वाट्सएप च्याटमा प्रधानमन्त्री बालेन्द्र शाह बालुवाटारबाट बाहिरिएका र सुरक्षा आवागमनसम्बन्धी अति गोप्य सूचनाहरू सापकोटालाई पठाएको फेला परेपछि दाहालमाथि अनुसन्धान अगाडि बढाइएको थियो।
न्यायपालिकाको शुद्धीकरण र बिचौलियातन्त्रको अन्त्यका लागि यो अनुसन्धानलाई एउटा महत्वपूर्ण कडीका रूपमा हेरिएको छ। देशका उच्च ओहदाका व्यक्तिहरू, न्यायाधीशहरू र सुरक्षा अधिकारीहरूलाई समेत प्रभावमा पार्ने ईनम सापकोटाको यो जस्केलाको जालो कसरी फैलियो र यसका पछाडि अन्य कुन–कुन ठूला माछाको हात छ भन्ने विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीको विशेष टोलीले थप अनुसन्धानलाई निरन्तरता दिइरहेको छ।
