प्रधानमन्त्री बालेन्द्र शाहले अहिले आफू र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिच ‘लडाइँ’ चलिरहेको संकेत गरेका छन । बिहीबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै बालेनले देश जोगाउने र पार्टी जोगाउने राजनीतिबीच ठूलो अन्तर रहेको बताएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रहरी महानिरीक्षक (आईजीपी) हटाउने सरकारको निर्णयबारे प्रश्न उठाएपछि प्रधानमन्त्री शाहले दिएको यो अभिव्यक्तिलाई धेरैले लामिछाने लक्षित टिप्पणीका रूपमा व्याख्या गरेका छन् । सभापति लामिछानेले बिहीबार आईजीपी हटाउने सरकारको निर्णयको औचित्य सरकारले पुष्टि गर्नुपर्ने प्रतिक्रिया दिएका थिए ।
सरकारका कदमहरूमाथि प्रश्न उठ्दा वा थप स्पष्टता आवश्यक पर्दा पार्टीले नियन्त्रण र सन्तुलनको भूमिका निर्वाह गर्ने उनको भनाई थियो । सरकारले गर्ने निर्णय र चाल्ने कदमहरूको औचित्य पुष्टि गर्ने दायित्व स्वयम् सरकारकै हुने उल्लेख गर्दै लामिछानेले आईजीपी फेरबदलको औचित्य पनि समयक्रममा सरकारले नै स्पष्ट पार्ने विश्वास व्यक्त गरेका छन् ।रास्वपाका अन्य नेताहरूले पनि उक्त निर्णयबारे पार्टीसँग सरकारले छलफल नगरेको भन्दै प्रश्न उठाएका थिए ।
‘सुरक्षा निकायसँग रहेको यो जिम्मेवारी हेरफेर असाध्यै संवेदनशील विषय भएकाले सरकारले कुनै निश्चित समयमा यसको औचित्य अवश्य पनि पुष्टि गर्ला’, लामिछानेले भनेका थिए, ‘सरकारले गरेका सबै विषयमा होमा हो मिलाउँदैन पार्टीले, चेक एन्ड ब्यालेन्स गर्ने, त्यसबारे अझ बढी स्पष्ट पार्न पार्टीले फरक धारणा बनाउने, आवश्यक पर्दा निर्देशन दिने गर्छ।’
प्रधानमन्त्री शाहले लामिछानेप्रति लक्षित गर्दै गएराति सामाजिक सञ्जाल फेरबुकबाट जबाफ दिएका हुन्। ‘तपाईंहरूका कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्,’ प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रा नेता लड्छन्, मानवताले आश गर्छन्। फरक यत्ति हो। देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ।’ उने भनेका छन । पुराना दलहरूमा कार्यकर्तालाई सडकमा लडाएर नेताहरू हाँसेर बस्ने प्रवृत्ति रहेको आरोप लगाउँदै प्रधानमन्त्री शाहले आफ्नो नेतृत्वमा भने नेता स्वयं लड्ने दाबी गरे।
प्रवक्ता जगदीश खरेलसहित रास्वपाका अन्य नेताले पनि आईजीपी फेर्ने प्रधानमन्त्री शाहको निर्णय पार्टीसँगको छलफलबाट नभएको अभिव्यक्ति दिँदै आएका छन्।
त्यसप्रति असन्तुष्ट प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत तबाफ दिँदै आफू नेतृत्वको सरकार यतिबेला देश जोगाउनतर्फ लागेको दाबी गरेका छन्। यता
आइजिपी हटाउने निर्णय गरेको विषयमा सरकार प्रवक्ता र सत्तारूढ पार्टी रास्वपाका प्रवक्ताको भनाइ बाझिएको छ। सरकारका प्रवक्ताले पार्टीकै निर्देशनमा आइजिपीको जिम्मेवारी फेरबदल गरिएको दाबी गरिरहँदा पार्टी प्रवक्ताले भने आफूहरूले आइजिपी हटाउन कुनै निर्देशन नदिएको भन्दै सरकारी दाबीको खण्डन गरेका छन । बुधबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले भनेका थिए– ‘धेरै ठाउँबाट अहिले बदलिँदो परिस्थिति छ। एक किसिमको संवेदनशील विषयमा सरकारले केही गर्नुप¥यो भन्ने पार्टीबाट पनि निर्देशन आएको थियो। त्यो भएको हुनाले उहाँको जिम्मेवारी फेरबदल गरिएको हो।’ तर, रास्वपाका प्रवक्ता जगदिश खरेलले पार्टीले सरकारलाई कुनै पनि व्यक्तिलाई पदबाट हटाउन वा नियुक्ति गर्न निर्देशन नदिएको बताए।
